प्रिमियरमा पल अनुपस्थित : पूजाले रुँदै भनिन्- ‘हामीमाथि बज्रपात पर्यो’
काठमाडौँ । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर कार्यक्रममा नायक पल शाह अनुपस्थित भएपछि अभिनेत्री तथा निर्माता पूजा शर्मा रोएकी छन् । पल शाहविरुद्ध जाहेरी परेपछि उनी कार्यक्रममा उपस्थित हुन नसक्दा पूजा रोएकी हुन् ।
कीर्तिपुरको पाँगामा नयाँ खुलेको फिल्म हल ‘कीर्तिपुर कप्लेक्स’मा बुधबार साँझ ५ः३० मा आयोजित प्रिमियर पलकै कारणले करिब दुई घण्टा ढिलो शुरु भएको थियो । कलाकारहरूको भिडभाड रहेको प्रिमियर कार्यक्रममा पूजा सुरुदेखि मलिन अनुहारमा थिइन् । फिल्म हेरिसकेपछि सबै अतिथि कलाकारले प्रशंसा गरे तर, सबैको सुखद प्रतिक्रियाले पनि पूजाको अनुहारमा उत्साह थिएन ।
सञ्चारकर्मीसँगको कुराकानीमा पूजाले पल शाहको नाम नलिईकन आफ्नो फिल्मको टिमलाई बज्रपात गरेको बताइन् । ‘जोडी मनकामना जानुहुन्न भन्ने बुढापाकाले भन्थे । हामी रियल जोडी त होइनौँ, तर रिल जोडी हौँ,’ भक्कानिँदै उनले भनिन्, ‘हाम्रो लागि यो भनाइ सत्य भएको छ । आज हाम्रो टिमलाई बज्रपात परको छ ।’