भिम राईको कविता – पुँजीवादको स्वर
घर देशमा होस या परदेशमा
गाउँमा होस वा शहरमा
समूहमा होस कि परिवारमा
पुँजीवादको स्वर ठूलाे हुन्छ
ठूलाले सानालाई
शक्तिशालीले कमजोरलाई
बलवानले लुतेलाङ्ग्रेलाई
बाठाले लाटोलाई
हेपे जस्तै
हेपी रहन्छ
पुँजीवाद
अमेरिका होस या चिन
बेलायत होस या भारत
जापान होस कि रुस
उनीहरूकै मुलुकमा पनि
बाँची रहन्छ
पुँजीवाद
मालिकले कामदारलाई
ठेकदारले मजदुरलाई
धनीले गरिबलाई
गरिबले कंगाललाई
हप्काई रहने
शक्ति स्रोत हो
पुँजीवाद
शहरकाले गाउँकालाई
घर धनीले भाडावाललाई
कारवालाले साइकलवालालाई
साइकलवालाले बटुवालाई
थर्काई रहने
हिम्मतको जग हो
पुँजीवाद
प्रशासन चलाउन सक्छ
न्यायालय बदलाउन सक्छ
मानवअधिकार उल्टाउन सक्छ
कसुर दार उम्काउन सक्छ
सबका सब चट पार्ने
मुलगेटकाे चाबी हो
पुँजीवाद
इमान बेचेर बेइमानी किन्छ
चोरलाई चौतारी बनाएर
साधुलाई सुलीमा चढाउँछ
यथार्थमा सबैलाई दास सम्झने
सुविचारित कुविचारकाे मुहान हो
पुँजीवाद
हो,
यसैले
विदेशमा
देशमा
शहरमा
गाउँमा
घरमा
पुँजीवादको स्वर ठूलाे हुन्छ ।