देउबहादुर दुराबारे पहिलो कृति प्रकाशित
काठमाडाैँ । ठाडो भाकाका सुप्रसिद्ध गायक देउबहादुर दुराको जीवनवृत्तान्तलाई केन्द्रीय विषय बनाएर ‘देउबहादुर दुरा : ठाडो भाकाका लोकनायक’ शीर्षकमा पुस्तक प्रकाशन भएको छ ।
देउबहादुर दुराबारे यो पहिलो कृति हो । नाच्न–गाउन माहिर मानिएका देउबहादुर दुरा ‘सात दिन सात रातसम्म गाउन सक्थे’ भन्ने कहावत छ । उनको जन्म र मृत्यको यथार्थ विवरण प्राप्त हुन नसके पनि हालसम्मको शोधअनुसार उनी विस १९५४ तिर जन्मेर १९९४ तिर परलोक भएको अनुमान छ ।
प्राध्यापन तथा शोधकार्यमा संलग्न यमबहादुर दुराले तयार पारेको पुस्तकमा देउबहादुर दुराको साङ्गीतिक यात्रा, पारिवारिक विवरण, उनका जीवनकालमा घटेका रोचक घटना, साङ्गीतिक सहयात्री, जीवनसङ्गिनी, जुद्धशमशेरको दरबारमा गीत गाएको प्रसङ्गलगायतका दुर्लभ विवरणहरू समेटिएका छन् ।
पुस्तकको प्रकाशन समाजसेवी तथा भूतपूर्व गोर्खा सैनिक इन्द्रबहादुर दुराले गरेका थिए ।