स्थानीय तहकाे चुनाव वैशाख ३०मै हुन्छ : गगन थापा

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय निर्वाचन कुनै हालतमा नसर्ने बताएका छन् । पोखरामा अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन आइपुगेका उनले स्थानीय निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरे ।

‘वैशाख ३० गते स्थानीय निर्वाचन हुन्छ । कोही कहीँकतै कुनै नेताको अन्तर्वार्ता पढेर नअलमलिनुहोला । वैशाख ३० मा स्थानीय निर्वाचन हुन्छ, कांग्रेसले निर्वाचन गराउँछ,’ उनले भने, ‘संविधानले त्यही मार्गनिर्देशन गरेको छ । संसदीय चुनाव मंसिरमा हुन पनि सक्छ, अघि हुन पनि सक्छ । संसद अवरोध खुलेन भने छलफलबाट टुंगोमा पुग्छौँ । संसद जे भएपनि स्थानीय चुनाव तलमाथि हुँदैन ।’

उनले संसदलाई खुलाउन कांग्रेसले धेरै प्रयास गरिरहेको भएपनि टुंगोमा नपुुगेका बताए । ‘अदालत अवरुद्ध थियो, त्यो खुलाउन प्रधानन्यायधीशलाई भन्यौँ । उहाँले मान्नुभएन, महाअभियोग लगायौँ । अहिले संसद् सुचारु बनाउन चाहान्छौँ,’ उनी भन्छन्, ‘सत्ता नेतृत्व गरेको हैसियतले हामी एमाले अध्यक्षको घरमा पटकपटक पुगेका छौँ, हात जोडेर अनुरोध गरेका छौँ । किनकी हात जोड्ने पालो हाम्रो हो । अहंकार पाल्ने होइन, हामी केपी ओली र नेकपा एमाले होइन ।’ धेरै विधेयकहरू सदन अवरुद्ध भएकै कारण अड्किएको भन्दै सहज वातावरण बनाईदिन प्रतिपक्षी दल एमालेसँग उनले आग्रह गरेका छन् ।

कम्युनिस्टहरूले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेकोले कांग्रेसले सरकारको जिम्मा लिनुपरेको उनको तर्क छ । ‘नेपाल कम्युनिस्ट पार्टीले आफ्नो जिम्मेवारी पूरा गरोस् भनेकै हो । ५ वर्ष कम्युनिस्टले सरकार चलाओस् भन्ने लागेको हो । तर उसले जिम्मेवारी पूरा गरेन, हामी सरकारको नेतृत्वमा पुग्यौँ,’ थापा अघि भन्छन्, ‘कांग्रेस ५० वर्ष सत्तामा आउँदैन भनेर सत्ता चलाउनेहरू अहिले कहाँ छन् ? हामी त इमान्दारीपूर्वक प्रतिपक्षी भएर सरकारलाई सघाएका थियौँ । तर आफैँ जिम्मा लिनुपर्ने ठाउँमा आइपुग्यौँ, जिम्मा लियौँ ।’

सरकार दुर्घटनामा पर्नु र संसदभित्र अस्वाभाविक परिस्थिति सिर्जना हुनुमा यसअघिको गठबन्धनमा रहेका सबै दलहरूलाई पाप लाग्ने उनको भनाई छ । ‘कम्युनिस्ट सरकार ढल्नुमा पुर्वप्रधानमन्त्री केपी ओली मात्रै होइन, त्यतिबेलाको गठबन्धनका सबै दल र नेताहरूको जिम्मेवारी हुन्छ । किनकी सबै पाप माफ हुँदैन,’ उनी भन्छन्, ‘अब निर्वाचनमा जाने बेला भएको छ । अघिल्लोपटक हामी एक होऔँ भन्दै गीत गाएका कम्युनिस्टलाई प्रश्न गर्नुपर्छ । यो पटक जनताको बीचमा जाँदा तपाईं चेतनाको राजनीतिको पक्षमा हो कि उत्तेजनाको राजनीतिको पक्षमा हो भनेर सोध्नुपर्ने छ । त्यही भनेर भोट मागौँ ।’

एमसीसी अनावश्यक रुपमा गिजोलिएको उनले दोहोर्याए । ‘हामीले नै मागेको एमसीसी अहिले आयो । अहिले सम्झौता लागू भए अमेरिकी कानून लागू हुने भनेर प्रचार गरिएको छ । पास भयो, खै अमेरिकाको कानुन त लागू भएन,’ थापाले भने, ‘कमरेडले एमसीसी आएपछि प्रशारण लाइन बनाउन आउँदा एमसीएले नेपालको जग्गा लैजान्छ भनिदिए । आफैँले हस्ताक्षर गरेर आएको सम्झौता हस्ताक्षर गर्दा एउटा, पढ्दै गर्दा अर्को र पास हुँदै गर्दा अर्को भनेर बुझ्छ भने क्षमतामाथि प्रश्न गरौं । बुझीबुझी तपाईंलाई गलत भनेको रहेछ भने ठग भयो ।’ उनले बाहिर भनिएको र बोलिएको सबै कुराहरू उत्तेजना मात्रै भएको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *