संसारभरिका स्याल मिलेर एमालेविरुद्ध ‘हुहु’ गरे : ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दा गर्दै प्रतिक्रियावादीहरू मिलेर सरकार ढलाएको दोहोर्याएका छन् ।

स्यालको प्रसंग निकाल्दै उनले भने, ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएपछि त्यो सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ । त्यसकारण दुनियाँभरीका स्यालहरू हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । त्यसको वैचारिक र व्यावहारिक ढंगले जवाफ दिनुपर्छ ।’

ओलीले आफ्नो सरकार हुँदा चलाएको कोकोहोलोमा कुनै अनौठो नमान्न आग्रह गरे । ‘अहिलेको अवस्थामा हामीले मानव अधिकारमा धेरै सुधार ल्याएका थियौँ । २०७४ को निर्वाचनबाट नेपालको राजनीतिक अभियान र गणतान्त्रिक अभियानमा धेरै नयाँपन ल्याएका थियौँ,’ उनी भन्छन्, ‘तर विभिन्न खालका प्रतिक्रियावादीहरूले बिगारे । उनीहरू एकजुट भएर हामीलाई विस्थापित गरे । सबै कुरालाई सेडब्याक गराए ।’

ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालप्रति कटाक्ष गर्दै हाँडीघोप्टेको संज्ञा दिएका छन् । ‘कुनै संस्थाबाट मान्छे फुट्यो भने नाम एकीकृत राख्छ । जोचाहिँ हाँडिघोप्टे छ, उसले समाजवादी नाम राख्छ । आजको समय त्यस्तो छ,’ अघि भने, ‘हामी फेसनको पछि होइन, तर्कको पछि लाग्छौँ । वास्तविक रूपान्तरणका लागि लाग्छ । विश्वभरिका मानवअधिकार अवधारणा भन्दा एमाले एक कदम अगाडि छ ।’

ओली त्यतिमा मात्रै रोकिएनन् । उनले भने, ‘अरूले एमालेको उचाई प्राप्त गर्न पनि नसक्ने र इर्ष्या गर्ने चलन छ । ईस्र्या मात्रै गर्ने, माधव नेपाल प्रवृत्ति ठूलाठूला देशमा पनि छ । आफू केही गर्न नसक्ने अरूले गरेकोमा इर्ष्या मात्रै गर्ने र कुण्ठित हुने ।’ नेपालले अमेरिका भन्दा पनि अगाडि महिलालाई भोटिङ अधिकार दिएकोले अरूभन्दा नेपाल एड्भान्स रहेको दावी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *