अबको लडाइँ सत्य र असत्यको : ओली
पोखरा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अबको लडाइँँ भनेको राजनीतिमा सत्य र असत्यको लडाइँ हो बताएका छन् ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा पोखरामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अबको लडाइँँ जनादेशी र परमादेशीबीचको हुने बताए । कार्यकर्तालाई परमादेशविरुद्ध खुलेर सामना गर्न उनले निर्देशन दिए । एमाले जनताबाट निर्वाचित भएर आउने पार्टी भएकाले कसैको आदेश र परमादेश स्वीकार्य नहुने बताए ।
उनले राष्ट्र निर्माण नेकपा एमालेको प्राथमिकतामा रहेको बताएका छन् । जनतालाई मन पर्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिदै उनले सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताए ।
नेकपा एमाले लोकतन्त्रको मूल्य मान्यता, स्वच्छता, पारदर्शिता आदिलाई आत्मसात गर्दै अघि बढीरहेको बताउँदै उनले एमालेको विचार, व्यवहार, निष्ठता अन्यसँग तुलना गर्न नकिल्ने जिकिर गरे ।
विभिन्न दलबाट एमाले प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै उनले पार्टीको सिद्धान्त बमोजिम देश र जनताका पक्षमा क्रियाशील बन्न आग्रह गरे ।
अन्तर्राष्ट्रिय नारी दिवसको चर्चा गर्दै अध्यक्ष ओलीले नेपालमा महिला सशक्तिकरण बढेको र उनीहरूले आफूलाई प्राप्त जिम्मेवारीलाई सफलताका साथ बहन गरिरहेको बताए । कार्यक्रम नेकपा एमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको थियो ।