जलवायु परिवर्तनबारे विश्वलाई सन्देश दिनु सकारात्मक : मन्त्री रेग्मी
काठमाडाैँ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री उमा रेग्मीले जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन कालापत्थर पुगेर फर्किएका महिलाको समूहलाई स्वागत गरेकी छन् ।
शुक्रबार त्रिभुवन विमानस्थल पुगेर मन्त्री रेग्मीले काठमाडौँदेखि १३ दिने पदयात्रा शुरू गरी कालापत्थर पुगेर फर्किएका समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहलाई स्वागत गरेकी हुन् । सो क्रममा मन्त्री रेग्मीले जलवायु परिवर्तनले पारेको असरका बारेमा विश्वलाई सन्देश दिनु सकारात्मक विषय भएको बताइन् ।
जलवायु परिवर्तनले महिलालाई पारेको असरबारे गराइएको ध्यानाकर्षणप्रति उनले आभार व्यक्त गरिन् । मन्त्री रेग्मीले जलवायु परिवर्तनले निकै असर पारेको भन्दै सबै सचेत हुनुपर्ने धारणा राखिन् ।
त्यस्तै, ‘साथसाथै’का अध्यक्ष प्रतिजा कार्कीले विभिन्न क्षेत्रका ४० जना महिलाको समूहले जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन घोषणापत्र जारी गरेको र कालापत्थरमा नै महिला दिवस मनाउन सफल भएको जानकारी दिइन् ।
मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको आयोजना एवं वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा महिलाहरूको समूहले कालापत्थरमा विशेष कार्यक्रम गर्दै जलवायु परिवर्तनका बिषयमा १० बुँदे घोषणा पत्र जारी गरेको थियो ।