‘गरिब चढ्ने’ सार्वजनिक यातायातलाई सबै चढ्ने कसरी बनाउने (भिडिओसहित)

काठमाडाैँ । हाम्रोमा सार्वजनिक यातायातबारेको बुझाइ ठ्याक्कै उल्टो छ । हामी यातायात व्यवस्थापनका लागि सडक विस्तार गर्ने वा अन्डरपास बनाउने त गरिरहेका छौँ तर बर्सेनि १५-२० प्रतिशत सवारी साधन थपिइरहेका छन् । यसलाई रोक्न सडक विस्तार होइन हाम्रो बुझाइ विस्तार गर्न आवश्यक छ ।

नेपालमा सार्वजनिक यातायात भनेर दिइने परिभाषा नै गलत छ । सेवा भनेर परिभाषित गर्नुपर्ने सार्वजनिक यातायातलाई हामी व्यापार भनेर परिभाषित गरिरहेका छौ त्यो गलत हो । सार्वजनिक यातायात निजी क्षेत्रबाट नै लगानी र सञ्चालन भइरहेको छ। यसमा राज्यको लगानी एकदमै न्यून छ । राज्यको लगानी थोरै भएपछि जति नै नियन्त्रण र नियमन गर्छु भने पनि सहज नहुने रहेछ । सार्वजनिक यातायात भन्ने बित्तिकै सर्वसुलभ, सरल र भरपर्दो यातायातको माध्यम भनेर बुझ्नुपर्नेमा नेपालमा यसरी बुझ्नुपर्ने केही पनि नभएको अवस्था छ । न हामी कहाँ चल्ने सार्वजनिक यातायात समय तालिकामा चल्छन्, न योजनाअनुसार चल्छन् । नत आरामदायी छन्, न सुरक्षित नै । त्यसैले हामी कहाँ चल्ने सार्वजनिक यातायातलाई सार्वजनिक यातायातको परिभाषाभित्र नै पार्न मिल्दैन ।

हाम्रो देशमा सार्वजनिक यातायात भनेको कुनै निजी पसलमा गरिने व्यापार जस्तै छ । त्यसैले हाम्रो देशको सार्वजनिक यातायात भद्रगोल छ । यहाँ सार्वजनिक यातायात भन्ने बित्तिकै ‘गरिब’ चढ्ने साधन भनेर बुझिएको र बुझाइएको छ । सडक भनेको सार्वजनिक स्थान हो । यसमा सबैको बराबर अधिकार हुन्छ भनेर बुझ्नुपर्ने हो । सडक निर्माण गर्दा नै अपाङ्गता र फरक क्षमता भएका व्यक्ति, वृद्धवृद्धा, बालबालिका, पैदलयात्री र साइकल यात्रीलाई विशेष प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने हो । तर नेपालमा ठ्याक्कै उल्टो छ । यहाँ निजी सवारीसाधनलाई सबैभन्दा प्राथमिकतामा राखेर सडक निर्माण गरिएको छ । त्यसैले निजी सवारी साधन नहुनेका लागि सार्वजनिक यातायात आवश्यक हो भन्ने धारणाबाट प्रेरित भएर नेपालमा सडक र सवारीको विकास अहिलेसम्म भएकै छैन । त्यसकै परिणामस्वरूप आज चलिरहेका सार्वजनिक यातायात अव्यवस्थित भएको हो । जसले गर्दा सम्पूर्ण यातायात प्रणाली नै अस्तव्यस्त भयो । प्राथमिकतामा राख्नुपर्ने वर्गलाई बेवास्ता गर्नाले नै सार्वजनिक यातायात प्रणाली सही हुन नसकेको हो । यसले, गर्दा सडक सुधार भए पनि यातायात प्रणालीको कारण विकास गर्दा पनि जस पाउने ठाउँ भने छैन ।

धनी देश, जहाँका नागरिकले अत्यधिक सार्वजनिक यातायातको प्रयोग गर्छन् । हाम्रो सोचलाई पनि यसरी नै विकास गर्न आवश्यक छ । तर निजी सवारीसाधनलाई मात्र आकर्षित गर्ने नीति सरकारको देखिन्छ । जसले गर्दा बर्सेनि १५ देखि २० प्रतिशतसम्म सवारी साधनको वृद्धि भइरहेको छ । यस्तै स्थिति रहिरहने हो भने काठमाडौँ जस्तो शहरी क्षेत्रमा ५ घण्टासम्म जाममा बस्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । हामी तत्कालीन समस्या समाधानका लागि भनेर सडक विस्तार गरिरहेका फ्लाईओभर, अन्डरपास आदि बनाइरहेका त छौँ तर यो अल्पकालीन समाधानको बाटो मात्र हो । वर्षमा १५ देखि २० प्रतिशत सवारीसाधन थपिने शहरमा बाटो बिस्तार गरेर यातायातको व्यवस्थापन गर्छु भन्ने सोच नै गलत छ । यो सम्भव नै नहुने कुरा हो ।

हाम्रो देशका अरू क्षेत्र जस्तै यातायातको क्षेत्र पनि समस्या नै समस्याले घेरिएको क्षेत्र बनेको छ । कुन प्रणालीमा जाने र कसरी विकास गर्ने भन्ने विषयमा धेरै पहिले नै सोच्नुपर्ने थियो । अहिलेसम्म हामीले सिकेको पाठ भनेको सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित बनाउन नसक्ने हो भने हाम्रो यातायात प्रणाली दिनप्रतिदिन अझै भद्रगोल बन्दै जानेछ ।त्यसैले यो समस्याको दीर्घकालीन समाधान गर्नको लागि सार्वजनिक यातायातलाई नै व्यवस्थित र विकास गर्दै लैजानुपर्छ ।

विदेशमा हेर्ने हो भने अमेरिका निजी सवारीका लागि सडक बिस्तार भएको देश हो । त्यहाँका सडक निजी सवारीलाई नै आकर्षित गर्ने खालका छन् । तर अमेरिकाका ठूला शहरहरु जस्तै न्यूयोर्कमा निजी सवारी साधन पार्किङ गर्ने ठाउँ नै हुँदैन । सार्वजनिक यातायात नै विकास गर्नुपर्ने रहेछ भन्ने बुझेर अमेरिकाले मेट्रो रेलको विकास गर्‍यो । युरोपियन मुलुकमा पनि सार्वजनिक यातायातलाई नै सुधार गरेर प्राथमिकतामा राखिएको छ । यसले के प्रमाणित गर्छ भने जुन देशमा सार्वजनिक यातायात प्रणालीलाई बेवास्ता गरिएको छ त्यहाँको यातायात प्रणाली राम्रो छैन । यो बुझिसक्दा पनि हामीले यसमा कुनै काम गरेनौँ दिनप्रतिदिन यात्राको समय बढ्दै जाने, दुर्घटना बढ्दै जाने, प्रदूषण बढ्दै जाने त छँदै छ तेल किन्नको लागि हाम्रो धेरै पैसा बाहिर जाने क्रम पनि झनै बढ्छ । त्यसैले यी सबै कुरालाई नियन्त्रण गर्न सार्वजनिक यातायातको विकास गर्नुको अर्को कुनै विकल्प नै छैन ।

कसरी गर्न सकिन्छ त सार्वजनिक यातायातको व्यवस्थापन
यसको सबैभन्दा प्रभावकारी विकल्प भनेको सार्वजनिक यातायात प्राधिकरण बनाउने र त्यसलाई काम गर्न दिने नै हो । यससम्बन्धी ऐन बन्ने क्रममा छ । मस्यौदा संसद्‌मा पेस भएको छ तर यो लामो समयदेखि पेन्डिङ अवस्थामा नै छ । यसले के स्पष्ट हुन्छ भने यो क्षेत्रलाई हामीले अझै प्राथमिकतामा चाहिँ राखेका छैनौँ ।

त्यसैले भिजनसहितको स्वायत्त र एकदम बलियो निकाय खडा गर्नु अति आवश्यक भइसकेको छ । त्यो भनेको सार्वजनिक यातायात प्राधिकरण हो । काठमाडौँबाट सुरु गरेर यही काम प्रत्येक प्रदेशमा गर्दै जाने हो भने बिस्तारै व्यवस्थित हुँदै जान्छ । काठमाडौँ सबैभन्दा ठूलो शहर भएकोले सुरु गर्दा यहीँबाट गर्नुपर्छ । यसरी प्राधिकरण बनाएपछि त्यसअन्तर्गत रहेर सार्वजनिक यातायात कम्पनी खडा हुन्छन् । त्यो कम्पनीमा बहुमत लगानी सरकारको हुन्छ र बाँकी लगानी निजी क्षेत्रको हुनुपर्छ । निजी क्षेत्रका सवारी साधन धनीहरूलाई पनि सेयर होल्डर बनाउन सकिन्छ । त्यस्तो कम्पनी भएमा मात्र सवारीसाधनको एकीकृत समय तालिका, विकास गर्न सकिन्छ ।

त्यसैमा कुन ठाउँमा सवारीसाधन रोक्ने, कती बजे हिँडाउने, राती कती बजेसम्म चलाउने व्यवस्थित तरिकाले निर्धारण गर्न सकिन्छ । यदि कोही व्यक्ति निजी सवारी साधन छोडेर सार्वजनिक यातायात चढ्न चाहन्छ भने उसको लागि रात्रि सेवा पनि उपलब्ध हुनुपर्छ । पूर्णरुपमा सार्वजनिक यातायातमा निर्भर हुन्छु भन्ने प्रत्याभूतिको लागि पनि यी कुराहरू आवश्यक छ । होइन भने त उसले फेरि निजी सवारीसाधन नै चढ्नुपर्ने अवस्था आइहाल्छ । त्यस्तै, काठमाडौँको सडकहरूलाई प्राइमरी, सेकेण्डरी र टर्चरी रुट भनेर विभाजन गरिएको छ । यसलाई कुन सडकमा कुन सवारी मात्र चलाउने भनेर छुट्याइएको छ । त्यसलाई राम्रोसँग पालना गरेर पनि व्यवस्थापन गर्न सकिन्छ । दीर्घकालमा त मेट्रोरेल पनि चलाउनैपर्छ । अहिले मेट्रोरेल भन्दा कसैले पत्याउने अवस्था नै छैन त्यसैले अहिलेको पहिलो प्राथमिकता भनेकै सार्वजनिक यातायातको व्यवस्थापन हो ।

नेपालमा ल्याएको इलेक्ट्रिक बस पनि अहिले भारतलाई बेच्ने कुरा चलिरहेको छ । साझा बसको रात्रिकालीन समयमा चलाउने भनेर ल्याएको बस पनि थन्किएर बसेको छ । नेपालको समस्या नै त्यही जे कुरा चल्नुपर्ने हो त्यही नै थन्किएर बस्छ । यस्तो भएपछि कसरी सार्वजनिक यातायात प्रणालीलाई विकास गर्न सकिन्छ ? मानिसहरूले आफ्नो खुशी, सहजता र सुखको लागि जग्गा बेचेर पनि सवारी साधन किन्ने भए । यदि सार्वजनिक यातायात मात्र व्यवस्थित भयो भने मानिसले निजी सवारीसाधन नै हुनुपर्छ, चढ्नुपर्छ भन्ने कुरा पनि गर्दैन । तुलनात्मक हिसाबले हेर्ने हो भने पनि सार्वजनिक यातायात चढ्नु निजी सवारीसाधन चढ्नुभन्दा धेरै सस्तो पर्न जान्छ । नेपालमा निजी सवारीसाधन चढ्नु पनि रहरभन्दा बढी बाध्यता हो । मोटरसाइकल चालकलाई कती गाह्रो हुन्छ । पानी पर्दा, घाम चर्किदा, धूलोमा, हिलोमा धेरै गाह्रो हुन्छ ।

तर त्यो चढ्नुपर्ने बाध्यता पनि छ । पद र प्रतिष्ठामा बसेका मान्छेहरूलाई निजी सवारीसाधनको प्रयोग गरेर रमाइरहेका छन् भन्ने लागेको होला । दूर दराजमा कती सार्वजनिक यातायात चढ्ने मान्छे होलान् र भन्ने पनि लागेको होला । तर, वास्तविकतामा त्यस्तो हुँदैन । हाम्रो देशमा मानिसलाई साइकलप्रति पनि कुनै आकर्षण छैन । फेरी गरिबले मात्रै साइकल चढ्ने, गरिब मात्रै पैदल हिँड्ने भन्ने सोच नै गलत छ । नेपालमा साइकललाई मनोरञ्जनको साधनको रूपमा मात्रै प्रयोग गरेको देखिन्छ । त्यसलाई नियमित यात्रा गर्ने साधनको रूपमा प्रयोग गर्नु आवश्यक छ । काठमाडौँमा अब सडक चौडा गर्ने, फ्लाईओभर बनाउनेभन्दा पनि साइकल लेन बनाउने, फुटपाथ बनाउने योजना लिएर काम गर्‍यो भने चुनाव जितिरहने अवस्था छ । अनि जति पनि सार्वजनिक यातायात सञ्चालनमा छ त्यसमा पनि प्रतिस्पर्धा छ । फेरी एकैपटक चलाउने र एकैपटक थन्क्याउने चलन छ । त्यसैले अब यो सबै रोकेर व्यवस्थित बनाउने हो भने सार्वजनिक यातायात सबैलाई एउटै छातामुनि ल्याउनुपर्छ । सार्वजनिक यातायात नाफामुखी व्यवसाय होइन । यसमा सधैँ राज्यले लगानी गरिरहनुपर्छ ।

  • सार्वजनिक यातायात विज्ञ गजुरेलले जर्मनीबाट यातायात प्रणालीमा स्नातकोत्तर गरेका छन् ।
प्रतिक्रिया

One thought on “‘गरिब चढ्ने’ सार्वजनिक यातायातलाई सबै चढ्ने कसरी बनाउने (भिडिओसहित)

  1. सार्वजनिक यातायातको बारेमा एक दम स्पष्ट दृष्टिकोण दिने लेख । नीति तहमा बसेकाहरू हेक्का राख्दैनन् । समस्या प्राधिकरण नहुनु मात्र होइन प्रालिसम्म पनि नभएका निजी संस्थापनालाई यो व्यापार चलाउन दिने नीति हो । सरकार बैङ्क चलाउनलाई पुँजीको आधारहद (थ्रेस होल्ड) तोक्छ । निर्वाचनमा राष्ट्रिय दल बन्न आधार हद तोक्छ तर यहाँ ८०० किमी चल्ने सार्वजनिक सवारी साधनका लागि न गतिको न चालकको न यात्रु सुविधाको कुनै आधारसर्त तोकिन्छ । तोकिएका सर्त लागू हुँदैनन् व्यवहारमा आउँदैनन् । अनुगमन हुँदैन । देखा देखि १८ रुपैँया तोकिएको भाडा २० रुपैयाँ उठाउँदा पनि न भन्ने ठाउँ छ न सुन्ने र सम्बोधन गर्ने कुनै सार्वजनिक अधिकारी छ । सार्वजनिक अधिकारीहरू र गाडी सञ्चालकहरू आपसमा सौदाबाजी गर्छन् । यात्रु मर्काको मर्कामै । कम्तीमा सार्वजनिक सेवा भनेर चलाइएको यातायातका एकभन्दा बढी सवारी साधन भएका र लामो रूटका सवारी साधन सञ्चालन गर्नका लागि कम्पनी पनि पब्लिक कम्पनी नै हुनुपर्ने गरी पुँजीको पनि आधारहद तोकिनुपर्ने होइन? यो पाटोमा पनि लेखमा चर्चा भएको भए लोकविचारको पनि प्रतिनिधित्व भएको हुन्थ्यो होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *