‘प्रदेश १ को नामकरणबारे मुख्यमन्त्रीको हतारको अभिव्यक्ति’
विराटनगर । केही समय अघि झापा गएका बेला एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोशी राख्न प्रस्ताव राखे ।
त्यसको लगत्तै भोलिपल्ट प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले ओलीलाई जवाफ दिँदै एक अनलाइनलाई प्रदेश १ को नाम किराँत राखिने प्रतिक्रिया दिए । केही महिना अघि यस्तै अभिव्यक्ति मुख्यमन्त्री राईले दिएका थिए । मुख्यमन्त्री भए लगत्तै काठमाडौँको एक कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ को नाम किराँत प्रदेश राख्ने कसम खाएर प्रदेश फर्किएका थिए ।
पुस २७ गते टुँडिखेलमा आयोजित साकेला विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भनेका थिए, ‘प्रदेश १ मा किराँत राईहरूको हक दाबी लाग्छ । त्यसैले प्रदेश १ को नाम किराँत प्रदेश राख्नुपर्छ। म किराँत प्रदेशको पक्षमा छु, म भूमिको कसम खान तयार छु, म मेरो दललाई किराँत प्रदेशको पक्षमा उभ्याउँछु ।’
उनको यो भनाइलाई आधार मान्ने हो भने प्रदेश १ मा राई मात्र रहेको स्पष्ट पार्थ्याे । उनी कोशी या सगरमाथा प्रदेश बनाउनु पर्छ भनेर सांसदहरूले संसदीय दल भित्र कुरा गर्दा समेत कसैको कुरा नसुन्ने गरेको उनकै दल नेकपा एकीकृतका सांसदहरू गुनासो गर्छन् ।
गत फागुन २७ गते धरानमा आएका उनकै पार्टी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ को नाम कोशी नै राख्नुपर्ने आफ्नो धारणा राखे । प्रदेश १ को नाम जातीय हुनु नहुने भन्दै अध्यक्ष नेपालले सबैको सर्वस्वीकार्य हुने र सबैले मान्य हुने कोशी नाम नै उत्तम रहेको उनले बताए । अध्यक्ष नेपालले आफूलाई सगरमाथा पक्षधरहरूले प्रदेश १ को नाम सगरमाथा जोडिदिनुस् भन्दै आग्रह गरेको पनि बताएका थिए । आफूहरू सबै जातजातिको भूमिकालाई सम्मान गर्ने, भाषा र संस्कृतिको सम्मान गर्ने तर देशलाई जातीय द्वन्द्वमा लैजान नदिने भन्दै कोशी नाम नै सही भएको तर्क गरेका थिए ।
आफ्नै दलका अध्यक्ष नेपालको भनाइलाई समेत चुनौती दिँदै प्रदेशको नाम किराँत नराखिए मुख्यमन्त्री, पार्टी र राजनीति नै छाडिदिने सम्मको चेतावनी राईले दिन भ्याए । उनको यो भनाइलाई माओवादी बाहेकका कुनैपनि दलले मन पराएको देखिन्न । नेकपा माओवादी केन्द्र भने प्रदेश १ को नाम किराँत राख्नुपर्ने बताउँदै आएको छ । माओवादी भित्रैपनि नामको विषयमा कतिपय सांसदहरू विभाजित देखिएका छन् ।
मुख्यमन्त्री राईको अभिव्यक्ति मुख्यमन्त्रीले दिने खालको नभएको सत्तापक्षीय नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाको छ । मुख्यमन्त्री जस्तो जिम्मेवारीमा बसेका व्यक्तिले विवादित खालका अभिव्यक्ति दिन भन्दा पनि कुनै नाममा सहमती खोजेर बोल्नु राम्रो हुने कोइरालाको भनाइ छ ।
प्रदेश १ को नामको बारेमा सबै खालका दलहरूसँग मुख्यमन्त्री कार्यालयमा छलफल भएको थियो, त्यो बेलामा भएका छलफल सकारात्मक भएपनि त्यसपछिका अभिव्यक्ति मुख्यमन्त्रीबाट हतारमा आएको उनी बताउँछन् । ‘प्रमुख प्रतिपक्षी एमालेको साथ सहयोग बेगर नाम नआउने अवस्था छ, उनले भने, नामको बारेमा सबैको साथ सहयोग लिएर जानु सरकारको नेतृत्वको हैसियतले मुख्यमन्त्री ज्यु को हो, पछिल्ला भनाइहरू कुन कार्यक्रममा कसरी बोल्नु भएको हो थाहा भएन तर उहाँले हतारमा बोलेको जस्तो देखिएको छ।’
सत्तापक्षका सबै दलहरू एउटै नामलाई प्रस्ताव गरेर जाँदा पनि पार लाग्ने अवस्था छैन त्यसका लागि एमालेको साथ र सहयोग चाहिन्छ । १० जना सांसद लिएर हिँडेका मुख्यमन्त्री राईका ४ जना सांसद कोशी या सगरमाथा हुनुपर्छ भन्नेमा देखिन्छन् । अरु ६ जना किराँत पक्षमा बोलेको देखिन्छ । मुख्यमन्त्री नेतृत्वको नेकपा एकीकृतको मात्र कुरा हैन नेपाली कांग्रेस भित्र नामको विषयमा सगरमाथा प्रदेशको पक्षमा धेरै सांसद देखिएका छन् भने केही सांसद कोशी भन्नेहरू पनि छन् । त्यस्तै एमालेका केही सांसद बाहेक अधिकांश सांसद कोशीको पक्षमा देखिएका छन् । यी ठुला दलहरूको कुरालाई आधार मान्दा कुनैपनि नाममा दुई तिहाई पुग्न सक्ने अवस्था देखिँदैन । सांसदहरूको व्यक्तिगत कुराले मात्र नाम आउने अवस्था छैन ।
अहिलेसम्मको अरु प्रदेशको अनुभवलाई हेर्दा अधिकांश प्रदेशहरूमा ह्वीप लगाएर नाम र राजधानी टुङ्गो लाग्दै आएको छ । प्रदेश १ मा पनि दलहरूले संसदीय दलमा भएको निर्णयको आधारमा ह्वीप लगाउने हुँदा दलको निर्णयहरू कार्यान्वायनमा जाने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । ‘संसदीय दलको निर्णय कायाृन्न्वायन गराउन ह्वीप लाग्छ, उनले भने, दलको निर्णय एउटा सांसदले अर्को गर्न पाउँदैन ।’
प्रदेश १ को नाममा पार्टीको केन्द्रीय नेतृत्वको निर्देशनमा ह्वीप लाग्ने बितिक्कै जातीय पहिचानमा भन्दा बहुपहिचानमा प्रदेशले नाम पाउने दाबी सांसदहरूको पनि छ । केन्द्रीय नेताहरू माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बाहेक, एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा प्रधान मन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रदेश १ को नाम कोशी या सगरमाथा राख्नुपर्ने पक्षमा देखिँदै आएका छन् । केन्द्रमा कुरा नमिल्दासम्म प्रदेश १ ले नाम पाउन नसक्ने विज्ञहरू बताउँछन् ।