प्रदेश १ मा टेलिमेडिसिन सेवा शुरू गर्ने तयारी
विराटनगर । प्रदेश १ सरकारले दूर चिकित्सा सेवा (टेलिमेडिसिन) तथा अनलाइन सेवा शुरू गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षबाटै सेवा शुरू गर्ने सरकारको योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदेश १ स्वास्थ्य मन्त्रालयले विराटनगरमा दूर चिकित्सा सेवाको नीति बैठकको आयोजना गरि सो जानकारी दिएको हो । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्वोले दुर्गम क्षेत्रका लक्षित वर्गलाई सेवा उपलब्ध गराउन दूर चिकित्सा सेवा प्रभावकारी हुने बताए । उनले चालु आर्थिक वर्षभित्रै सेवा सञ्चालन गरी १४ वटै जिल्ला अस्पतालहरूलाई जोड्न सुझाव दिए ।
स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य सेवालाई सवल बनाएमा संघीयताको सफल कार्यान्वयन एवं स्थायित्व कायम हुने बताए । स्वास्थ्य सेवाको अनुभूति प्रदेशवासीले गर्नेगरी सरकारले काम अघि बढाएको दाबी गरे । उनले टेलिमेडिसिन सेवा चाँडै शुरू गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताए । ‘यो सेवाले दूर्गम क्षेत्रका बासीन्दालाई विशेषज्ञबाट सेवा लिन सहज हुनेछ, उनले भने, स्वास्थ्य सेवा गाउँ गाउँसम्म पुर्याउन यो सेवा शुरू गर्न लागिएको हो ।’
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल, स्वास्थ्य मन्त्रालयका सचिव डा. अनुज भट्टचन, स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. मिङमार ग्याल्जेन शेर्पा, प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञानन्द्रबहादुर बस्नेत लगायतले दूर चिकित्सा सञ्चालनबाट प्रदेशको स्वास्थ्य क्षेत्रले गति लिने बताए ।
दूर चिकित्सा सेवा सञ्चालनका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि ५० लाख बजेट पठाएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख बस्नेतले जानकारी दिए । उनले प्रादेशिक अस्पतालबाट सेवा शुरू गर्नेगरी छलफल अघि बढेको बताए ।