एकदिवसीय विश्वकप यात्रामा नेपाल कम्फर्ट जोनमा !

काठमाडौँ ।  टी-ट्वेन्टी विश्वकप छनोटमा एक खेल टाढा हुँदै बाहिरिएको नेपाल एकदिवसीय विश्वकप अभियानमा भने तत्काललाई कम्फर्ट जोनमा छ । विश्वकप लिग २ अन्तर्गत २०१९ यता जारी २०२३ को एकदिवसीय विश्वकप रोडम्यापको यो तीन वर्षे अवधिमा नेपालले केवल ८ खेल मात्र खेलेको छ ।

जबकि सर्वाधिक खेल खेलेको ओमानले २८ खेल खेलेर ३६ अंक बनाएर शीर्ष स्थानमा छ । ८ खेलबाट नेपाल ८ अंक सहित छैटौँ स्थानमा छ । यो अभियानमा ७ टीम सहभागी छन् । समूहमा नेपाललेनै सर्वाधिक कम खेले खेलेको छ । त्यसैले नेपाल आगामी दिनमा राम्रो नतिजा सहित अंक तालिका सुधार्ने कम्फर्ट जोनमा छ । अर्थात् नेपाल विश्वकप अभियानमा अहिले सम्म ट्रयाकमानै छ ।

भारतमा हुने एकदिवसीय विश्वकपको यो अभियानमा कोरोना महामारीको कारण आइसिसीले २०२२ मानै सकिने यो अभियानलाई एक वर्ष थप गर्दै २०२३ सम्म लम्ब्याएको छ । अन्तिम सम्ममा नेपाल सहित सबै राष्ट्रले कुल ३६ ओडिआई खेल खेल्ने छन् । ७ टोली सहभागी विश्वकप लिग-२ मा कुल १ सय २६ ओडिआई मध्य ६६ खेल सकिएका छन् । शीर्ष तीन टोलीले ग्लोबल छनोटमा सिधै स्थान बनाउने भएकाले तत्काल सात टीमको लक्ष्य शीर्ष तीन रहेको छ।

अहिलेसम्म नेपालले ८ खेलमा ४ मा जित र ४ मा हार ब्यहोरेको छ । यो अभियानमा एउटा त्रिकोणात्मक सिरिजमा तीन टोलीले प्रतिस्पर्धा गर्ने गरेका छन् । जहाँ सबै टोलीले एक अर्कासँग दुई दुई खेल खेल्नुपर्ने हुन्छ ।

नेपालले अहिलेसम्म ओमान र अमेरिकासँग ४-४ खेल खेलेको छ भने अमेरिकासँग ४ मध्ये ३ खेलमा विजयी भएको छ । ओमानसँग ४ मध्य १ खेलमा मात्र जित हात पारेको छ । नेपालले अभियानको सुरुवात २०२० को फेब्रुअरीमा घरेलु मैदान टियुमा अमेरिका र ओमानसँग खेलेर गरेको थियो । ६ महिनाअघि यी दुवै टोलीसँग ओमानमा गएर खेलेको थियो । कोरोना महामारीको कारण लगातार त्रिकोणात्मक सिरिज स्थगित हुँदा नेपालले कम खेल खेलेको छ ।

सुखद सुरुवातको लक्ष्य
श्रीलंकामा केही महत्त्वपूर्ण अभ्यास पछि नेपाल पपुवा न्युगिनी, युएई सम्मिलित त्रिकोणात्मक सिरिजका लागि युएई पुगिसकेको छ । ब्याटिङको चिन्ता समाधान नभएको नेपाल कम्तीमा जारी सिरिजमा अंक नगुमाउने लक्ष्यमा रहेको छ । त्यसका लागि नेपाल बुधबार हुने सिरिजको पहिलो  खेलमा पपुवा न्युगिनिविरुद्व सारजाहमा जित निकाल्ने लक्ष्यमा छ । प्रतिस्पर्धा गर्दै गर्दा स्वभाविक रुपमा राम्रो सुरुवात गर्ने चुनौती नेपाल सामु रहेको छ ।

यस्तो छ नेपालको खेल तालिका
२ चैत्र: नेपाल विरुद्ध पपुवा न्युगिनी (११:१५ सारजाह)
४ चैत्र: नेपाल विरुद्ध युएई (११:१५ दुबई)
७ चैत्र: नेपाल विरुद्ध युएई (११:१५ दुबई)
८ चैत्र: नेपाल विरुद्ध पपुवा न्युगिनी (११:१५ दुबई)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *