राष्ट्रिय परिचयपत्रको काम अब वडाबाटै

बैतडी । बैतडीमा राष्ट्रिय परिचय पत्रको काम वडा तहबाटै हुने भएको छ । यसअघि जिल्ला प्रशासनमा हुँदै आएको परिचयपत्र विवरण सङ्कलनको काम अब वडा तहबाटै गर्न लागिएको हो ।

दुई चरणमा सञ्चालन हुने उक्त कार्यक्रम पहिलो चरणमा यही चैत ६ गतेदेखि सुरु हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

दश स्थानीय तह रहेका जिल्लाका चार स्थानीय तहमा पहिलो चरणमा उक्त कार्यक्रम सञ्चालन हुनेछ । पहिलो चरणमा शिवनाथ, सिगास, डिलाशैनी र पञ्चेश्वर गाउँपालिकाका वडा–वडामा विवरण सङ्कलनको काम सञ्चालन हुने उनको भनाइ थियो ।

सूचना अधिकारी भारतीले भने, “एक पालिकामा कम्तीमा १५ दिनसम्म कार्यक्रम सञ्चालन हुन्छ, प्रत्येक वडामा कर्मचारी खटाएर विवरण सङ्कलन गर्छौ ।”

विवरण सङ्लनका लागि कर्मचारी वडा कार्यालयमै खटाइने र यसका लागि ३५ विवरण दर्ता अपरेटर परिचालन हुनेछन् । विवरण सङ्कलन गरिसकेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले परिचयपत्र जारी गर्ने र सो परिचयपत्र वडाबाटै वितरण हुने जनाइएको छ । पहिलो चरणमा चार स्थानीय तहको विवरण सङ्कलन भएपछि त्यसपछि जिल्लाका अन्य स्थानीय तहका वडामा पनि विवरण सङ्कलनको काम सञ्चालन हुनेछ ।

सोह्र वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको विवरण सङ्कलन हुनेछ । राष्ट्रिय परिचय पत्र बहुउपयोगी भएकाले आफ्नो नाम दर्ता गराउन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आग्रह गरेका छन् । विस २०७७ असोज पहिलो सातादेखि सुरु गरिएको उक्त विवरण सङ्कलनमा हालसम्म सात हजारभन्दा बढी सहभागी भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *