भनी साध्य छैन साइकल यात्राको सकस (भिडिओसहित)

मैले सन् २००३ मा एसएलसी दिने बित्तिकैदेखि साइकल नियमित चढ्न थालेको हुँ । अहिलेसम्म पनि यात्राको मेरो प्रमुख साधन साइकल नै हो । कामको सिलसिलामा झण्डै ८ वर्ष पोखरा बस्दा पनि यात्राको लागि साइकल नै प्रयोग गरेँ । त्यहाँ वातावरणमैत्री एक संस्थामा काम गर्ने क्रममा मैले अर्को साइकल किनेँ ।

संस्थाले साइकल चढ्न रुचाउने स्टाफहरूलाई केही सहयोग गरिदिएको थियो । त्यसबेला हामीले सातवटा साइकल किनेका थियौँ । झण्डै १२ वर्ष भयो, म त्यही साइकल चढिरहेको छु ।

अहिले म काठमाडौँको तीनकुनेमा बस्छु । कार्यालय ललितपुरको सानेपामा छ । कार्यालय जान म साइकल नै प्रयोग गर्छु । २५ देखि ३० मिनेटसम्म लाग्छ । यसका लागि मुख्य सडकभन्दा पनि खोला छेउ छेउको अर्थात् करिडोरको बाटो प्रयोग गर्छु । मलाई साइकलयात्रीका लागि मुख्य सडकभन्दा सहायक बाटोहरू नै बढी सुरक्षित लाग्छ ।

मुख्य सडकमा साइकलयात्रीका लागि बेग्लै लेन छैन । त्यसैले आफ्नो लेन आफैँ बनाउनुपर्ने अवस्था छ । ललितपुर महानगरपालिकाले मुख्य सडकमा साइकल लेन बनाएको छ तर यसको पूरा कार्यान्वयन भने भएको पाइँदैन ।

साइकल लेनमा अरू सवारीसाधन पनि चलिरहेका हुन्छन् । पार्किङ पनि गरिराखिएको हुन्छ । त्यसै भएर साइकल यात्रीले आफ्नो लेन आफैँ बनाउनुपर्ने अवस्था छ । साइकलयात्री कार वा अरू गाडी ठूला गाडीको अघिपछि जान अलि खतरा नै हुन्छ ।

देशको राजधानी शहर भएर पनि साइकल यात्रीलाई हेर्ने दृष्टिकोण म त्यति राम्रो पाउँदिनँ । हेल्मेट लगाएर साइकल चलाउनेलाई चाहिँ अहिले हेर्ने दृष्टिकोण अलि फरक जस्तो पाउँछु । हेल्मेट लगाएको व्यक्तिलाई नियमित साइकल चलाउने मान्छे रहेछ भनेर हो कि वा किन हो थोरै भएपनि बाटो छोडिदिने गरेको पाउँछु । तर हेल्मेट नलगाई चलाउँदा एकदम पेल्ने, हंक हर्न बजाएर साइड माग्ने, च्याप्ने गर्ने गरेको अनुभव छ मसँग ।

थापाथलीमा वाग्मतीको पुल तरेपछि ललितपुरमा साइकल लेन भेटिन्छ । म कार्यालय जाने क्रममा त यो रुट खास प्रयोग गर्दिन । तर, साइकलमा ललितपुरका विभिन्न ठाउँमा जानुपर्दा त्यो ‘साइकल लेन’ कहिल्यै पनि साइकलयात्रीका लागि भनेर खाली भएको मैले पाएको छैन । त्यहाँ कतै ट्याक्सी कतै निजी सवारीसाधन पार्क गरिएको हुन्छ । वा अरू सवारीसाधनले लेन नै मिचेर गुडेका हुन्छन् । यसमा ट्राफिक प्रहरीले पनि खासै चासो दिएको पाइँदैन । साइकल लेनमा पार्क गरेको गाडी हटाउन पर्ने वा पार्क गर्नेलाई कारबाही गर्नुपर्ने हो । तैपनि हुँदै नहुनुभन्दा नाम मात्रैको भएपनि लेन छ म सुरक्षित नै छु भन्ने केही हदसम्म भएपनि महसुस हुन्छ । साइकल लेन भनेपछि यो हाम्रो लेन हो भन्ने ‘कन्फिडेन्ट’ चाहिँ हुन्छ । कहिलेकाहीँ साइकल लेनमा पार्किङ गरिराखेका हरूलाई यो त हाम्रो लेन हो नि भन्ने चाहिँ गरेको छु । काठमाडौँ महानगरमा भने त्यही लेन पनि छैन ।

मलाई साइकल यात्री कम भएर पनि साइकल यात्रा र यात्रीका कुरा सुनुवाइ नभएको हो कि जस्तो पनि लाग्छ । यदि साइकल भएन भने म कि हिँड्छु कि सार्वजनिक सवारीसाधन चढ्छु भने पछि त कि एउटा बटुवाको दृष्टिकोणबाट वा सार्वजनिक सवारी साधन प्रयोगकर्ताको दृष्टिकोणबाट पनि सोच्न आवश्यक हुन्छ । उदाहरणका लागि काठमाडौँबाट बनेपासम्म वा त्यहाँभन्दा भित्रसम्म साइकलमा जानुपर्‍यो भने कोटेश्वरसम्म साइकलमा जान्छु अनि सार्वजनिक यातायातमा आफ्नो साइकल राखेर फेरि बनेपा पुगेर अनि भित्र साइकल चढेर जान्छु भन्ने व्यवस्था भइदिए हुन्थ्यो जस्तो लाग्छ तर सम्भव छैन । सार्वजनिक सवारीसाधन प्रयोग गर्दा साइकल चाहिँ घरमा नै ताला लगाएर राख्नुपर्ने अवस्था छ । त्यसैले हाम्रोमा साइकलमैत्री चेत नै आएको छैन भन्ने निष्कर्ष हो मेरो ।

काठमाडौँ उपत्यकामा साइकल यात्राका सकस यतिमा मात्र सकिँदैनन् । यहाँका विभिन्न कार्यालयमा जाँदा साइकल पार्क गर्ने ठाउँ कतै पनि पाइँदैन । ठूलो ठूलो निकाय र संघसंस्थामा पनि साइकल पार्क गर्ने ठाउँ भेटिँदैन । साइकल चढेर त्यहाँ पुग्दा उता लैजानुहोस्, उता लगेर बाध्नुहोस् भनेर एउटा अँध्यारो र फोहोर कुना देखाइन्छ । बारमा बाँध्ने, गेटमा बाँध्ने भनेर ठाउँ देखाइन्छ । त्यसैले आफैँले विचार गरेर कहाँ लगेर राख्दा सुरक्षित हुन्छ त्यही लगेर राख्नुपर्ने हुन्छ । जहाँ राख्यो त्यहाँ पनि अरू निजी सवारी, कार, मोटरसाइकलले छेकेर कुनामा पुगेको हुन्छ । फर्कने बेला कहिले त्यो गाडी निस्केला र आफ्नो साइकल निकाल्ने भनेर सोच्नु र कुर्नुपर्छ । यस्तो अवस्थामा कसरी साइकल यात्रीहरू बढ्ने कसरी साइकललाई सवारी साधन बनाउन आम नागरिक तयार हुने त ?

मेरो एकजना साथी विदेशी गैरसरकारी संस्थामा काम गर्नुहुन्छ । उहाँ साइकल यात्री हो । पहिला उहाँ सार्वजनिक यातायातको प्रयोग गर्नुहुन्थ्यो पछि साइकल लिनुभयो । त्यसपछि एकजना कार्यालयको गार्डले उहाँलाई ‘सर तपाईँ त सार्वजनिक यातायातबाट बल्ल साइकल चढ्न थाल्नुभएछ । तपाईँका साथीहरू गाडी चढेर हिँड्छन् । यसो एउटा मोटरसाइकलसम्म भएपनि लिनु न’ भनेछन् ।

यो एक प्रतिनिधि घटना हो । यसले कतिपय मान्छेले अहिले पनि साइकल चढ्नेलाई गरिब वा सानो पदको वा मोटरसाइकल गाडी किन्न नसक्ने मान्छे भन्ने हिसाबले सोच्छन् भन्ने दर्साउँछ । साइकल चढ्नेलाई केही प्रगति नै गर्न नसक्नेको रूपमा हेर्नेहरू पनि छन् । म वातावरणमैत्री हुन्छु, मेरो स्वास्थ्यको लागि पनि साइकल चढ्नु राम्रो हुन्छ र म बसेको ठाउँबाट कार्यालय जान साइकलमा नै सजिलो छ, खर्च पनि कम लाग्छ, प्रदूषण अलिकति भएपनि घट्छ भने साइकल किन प्रयोग नगर्ने ? तर हामीलाई यो चेतना आउन अझै धेरै समय लाग्ने देखिन्छ ।

यस्ता सास्तीहरू सहँदासहँदा कहिलेकाहीँ त साइकलको साटो मोटरसाइकल लिऊँ कि भन्ने झ्वाँक पनि नचल्ने चाहिँ होइन । साइकल चढ्नेलाई गरिने व्यवहार, मानिसले सोच्ने कुरा, सडकमा अरू यातायातले पेल्ने र ठेल्ने कुरा, साइकलको पार्किङदेखि लेन नभएको सम्मका कुराले गर्दा दिक्दारी हुन्छ पनि ।

काठमाडौँमा साइकललाई लक्जरीको रूपमा लिने गरेको जस्तो लाग्छ । किनभने यहाँका अलि हुनेखाने, वातावरण वा अन्य अभियन्ताहरूले समूह नै बनाएर शनिवार वा बिदाको दिन साइकलमा विभिन्न ठाउँ जाने गरेको देखिन्छ । कतिपय अरू दिन कार चढे पनि शनिवार चाहिँ साइकल चढ्ने गरेको पाइन्छ । कोही पेट घटाउन वा कुनै कसरत गर्नको लागि साइकल चढ्नेहरू धेरै छन् । तर साइकलमा मात्र भर पर्न सक्ने वा साइकल नै चढेर घर अफिस वा विद्यालय क्याम्पस गर्न चाहिँ उहाँहरू तयार नभएको देखिन्छ । यसका लागि सुरक्षा, सहजता, संरचना जस्ता माथि उल्लिखित सबै कुराहरू पनि जिम्मेवार छन् । अभिभावकले पनि साइकलमा मेरो छोरा छोरी साइकलमै आउजाउ गरोस् भन्ने सोच्नुहुन्न होला । साइकल भन्दा बरु मोटरसाइकल नै किनिदिन्छु भन्ने पनि हुनुहुन्छ ।

साइकलको लागि उपयुक्त संरचना भइदिए साइकल प्रयोग कर्ता स्वतः बढ्छन् नै । स्थानीय सरकारले साइकल लेन बनाउने, लेन अनुशासन कायम राख्ने, साइकल पार्किङको व्यवस्था गर्ने जस्ता काम गरे साइकल यात्रीको सङ्ख्या बढ्छ नै । साइकल सजिलोपनि, सस्तो पनि र वातावरण मैत्री पनि छ । काम गरेजस्तो गर्नको लागि मात्र होइन साँच्चै आवश्यक छ र आवश्यकता अनुसारको नै बनाउनुपर्छ भनेर गर्‍याे भने अझै धेरै मानिसले साइकलमा यात्रा गर्थे । यही पनि ललितपुरले गरेको त्यति कामलाई काठमाडौँले अनुसरण गर्न सकेको छैन । थापाथलीसम्म भएको साइकल लेन त्यहाँबाट बिस्तार गरेको छैन । बाटोचाहिँ ४ लेन र ६ लेनको छ तर त्यो न पैदल यात्रीमैत्री छ न साइकलमैत्री छ । हामीले युरोपेली देशमा हेर्‍यौँ भने कसरी उनीहरू साइकल मैत्री बन्दै गएका छन् भन्ने कुरालाई पनि सिक्नुपर्ने हो । विभिन्न देशको जस्तो साइकल सिटी, साइकल मात्र चल्ने सडकहरू पनि व्यवस्था गर्न सके अझ गजब हुन्छ ।

साइकलयात्रीलाई छुट्टै ट्राफिक जस्ता कुरा पनि योजना गर्दै जानुपर्छ । तर हाम्रोमा यो चेत अझै कति वर्ष पछि मात्र आउने हो यसै भन्न सकिने अवस्था छैन ।

काठमाडौँ उपत्यकामा अहिले पनि लेन बढाउने कुरा त हुन्छ तर त्यहाँ साइकललाई पनि एउटा लेन छुट्याएर त्यसलाई कडाइका साथ लागू गरौँ भन्ने कुरा लागू भएको छैन । निजी सवारीसाधनभन्दा सार्वजनिक सवारीसाधनलाई प्राथमिकतामा राख्नुपर्छ । काठमाडौँ भनेको हिँड्दै जाँदा फुटपाथ नै हराउने ठाउँ हो । अनि पैदलयात्रीको जीवन जोखिममा पर्न जान्छ । त्यसैले ठूला ठूला र विद्युतीय सार्वजनिक सवारीसाधनलाई प्राथमिकतामा राख्यो भने बिस्तारै समस्या समाधान हुँदै जान्छ भन्ने आशा गर्न सकिन्छ । हामी आम मानिसले गर्ने त यही आशा न हो । काम त सम्बन्धित निकायहरूले गर्नुपर्‍यो नि ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *