बाँदर चकचके कि उत्सुक ? (तस्वीरसहित)
काठमाडाैँ । बाँदरलाई एकदमै चकचके जनावरका रूपमा लिइन्छ । धेरै चकचक गर्ने भएकाले अलि चुलबुले र छटपटे मानिसलाई कस्तो बाँदर जस्तो भन्ने गरिन्छ तर खास कुरा भने त्यसो होइन । बाँदर चकचके नभएर एक उत्सुक जनावर हो ।
यो संसारमा भएका जीवित प्राणीमध्ये बाँदर प्रजाति मानिसपछि सबैभन्दा बढी मस्तिष्क क्षमता विकास भएको प्राणी हो ।यसको मानिससँग ९८ प्रतिशत क्षमता मिल्छ । बाँदरको मस्तिष्क क्षमताकै कारणले गर्दा बाँदरले हरेक कुरा खोजतलास गर्ने, हेर्नेरबुझ्ने, अनि आफूलाई निश्चित भइसकेपछि मात्र उपयोग गर्ने गर्दछ ।
बाँदरविद् प्राडा. मुकेश कुमार चालिसेका अनुसार बाँदरलाई हामीले हेर्दा चकचके भएको, केही न केही बिगारिरहेको, उफ्रिरहेको देख्छौ‚ तर त्यसो होइन । रूखका हाँगा हाँगामा ऊ यसै कुदिरहेको हुँदैन । वास्तवमा बाँदरले ती हाँगाहरू भाँचिन्छन् कि भाँचिँदैनन् भनेर जाँचरपडताल गरिरहेको हुन्छ ।
ऊ हाँगा नभाँचिने निश्चित गरेर मात्र हाँगा समातेर यता उता उफ्रन्छ । अन्य जनावरहरूले मानिसले गरेको काम देखेर कममात्र सिक्छन् । सिकेपनि धेरै दिनपछि मात्रै सिक्छन् तर बाँदरले चाहिँ देखेर पनि थाहा पाउँछ र तुरुन्तै त्यो कुराको नक्कल गर्न थाल्दछ ।
डा. चालिसेका अनुसारनेपालमा जम्मा ६ प्रजातिका बाँदर पाइन्छन् । त्यसमध्ये तीनवटा मुख्य जाती हो । सहर बजार, काठमाडौँ अथवा धार्मिक ठाउँहरूमा पाइने राता जातका बाँदरहरू, जसलाई अङ्ग्रेजीमा रेसस मङ्की भनिन्छ । अर्का पहाडतिर पाइने अलि ठूला खालको‚ अलि कालो खालको‚ तर हेर्दाखेरि रातो नै देखिने बाँदर हुन्छ‚ जसलाई पहरे बाँदर भनिन्छ ।
पहरे बाँदरको दुईवटा उपजात छ । पूर्व र पश्चिमको । अर्को, लामो पुच्छर भएको‚ सेतो रङ भएको बाँदर हुन्छ, त्यो लङ्गुर बाँदर हो । यसको तराईतिर, मध्यपहाडमा र हिमालतिर पाइने गरी तीनवटा उपजात छ । यसरी ६ वटा उपजात र तीनवटा मुख्य जातका नेपालमा पाइन्छ । संसारभरि नै पाइएका २ सय ३४ प्रजातिका बाँदरहरूमा सबैभन्दा बढी बाँदरहरू यिनीहरू नै हुन् । जसमध्ये पनि सबैभन्दा बढी औषधि विज्ञानमा प्रयोग हुने रातो बाँदर हो ।
तस्वीरः