मोरङको लेटाङ क्षेत्रमा कर्फ्यु
विराटनगर । यौन दुर्व्यवहारका आरोपित पक्राउ गर्न गएको प्रहरीमाथि आक्रोशित भीडले आक्रमण गर्दा एक महिला प्रहरीको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका-५ खेरुवामा भएको झडपमा घाइते प्रहरी जवानको मृत्यु भएको हो ।
खेरुवामा रहेको शिक्षा विकास माविका शिक्षकले १३ वर्षीया छात्रामाथि यौन दुर्व्यवहारको विषयलाई लिएर आक्रोशित स्थानीय र प्रहरीबीच झडप भएको थियो । दुर्व्यवहार विरोधमा आइतबार साँझ विद्यालयमा आगजनी भएको थियो । शिक्षकलाई पक्राउ गर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षक, विद्यार्थी र अभिभावकले प्रधानाध्यापकको कार्यकक्षमा आगजनी गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
मध्यरातसम्म तनावग्रस्त रहेको लेटाङ-५ को अवस्था नियन्त्रणमा लिन मोरङ प्रशासनले बिहानै देखि कर्फ्यु लगाएको छ । बिहान ७ बजेदेखि लागू हुनेगरी वडा नम्बर ५ को सबै क्षेत्र, वडा नम्बर ३ र ४ को गंगेपुर र कमलपुर क्षेत्र, वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला र पश्चिममा चिसाङ खोला क्षेत्रसम्मलाई कर्फ्यु लगाएको हो ।
करिब ७/८ सय जनाको समूहमा आएका स्थानीयले प्रहरीमाथि आक्रमण गरेको प्रजिअ दाहालले बताए । ढुंगा र घरेलु हतियारको समेत प्रयोग गरेर प्रहरीमाथि आक्रमण भएको सुरक्षा निकायको भनाई छ । झडपमा २९ जना प्रहरी घाइते भएका छन् भने स्थानीय तर्फ ४ जना घाइते भएको प्रजिअ दाहालले जानकारी दिए ।
मोरङका एसपी जनार्दन जिसीको छाती र हातमा चोट चोट लागेको र उनको अवस्था सामान्य रहेको छ । मृत्यु हुने प्रहरी जवानमा प्रदेश प्रहरी गणमा कार्यरत उर्मिला श्रेष्ठको मृत्यु भएको प्रशासनले जनाएको छ । खोटाङ घर भएकी श्रेष्ठको शव अहिले कोशी अस्पताल विराटनगरमा राखिएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीन राईले जानकारी दिए ।