लेटाङमा भाेलि बिहान ६ बजेदेखि कर्फ्यु हटाउने तयारी

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा लगाएको कर्फ्यु हटाउने निर्णय गरेको छ । चैैत ६ गते बिहान ७ बजेदेखि लागू भएको कर्फ्यु भाेलि बिहान ६ बजेदेखि हटाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जारी गरेको कर्फ्यु आदेशमा चैत १० गते बिहान ६ बजेदेखि हटाइएको उल्लेख गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ क्षेत्रको दक्षिणमा लेटाङ नगरपालिका वडा नम्बर ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लेटाङ नगरपालिका वडा नम्बर ५ को सम्पूर्ण क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नम्बर ६को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला र पश्चिममा चिसाङ खोला क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरेको थियो । अबस्था सामान्य बन्दै गएपछि कर्फ्यु हटाउने तयारी भएको प्रजिअ दाहालले जानकारी दिए ।

गत चैत ४ गते होली खेल्ने क्रममा शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले छात्रालाई दुर्व्यवहार गरेको विषयमा चैत ६ गते आइतबार विद्यालयमा आगजनी र तोडफोड भएको थियो । आइतबार साँझ छात्र छात्रा र अभिभावकको अनियन्त्रित भिडले विद्यालयमा आगजनी, तोडफोड र ढुंगामुढा प्रहार गरेका थिए ।

उतेजित भिडले आक्रमण गरी रानी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको छुरा प्रहार गरी हत्या गरेपछि अवस्था थप तनाव ग्रस्त भएको थियो ।

बालिकामाथि दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेको तथा प्रहरी जवानलाई छुरा प्रहार गर्ने व्यक्तिको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

मंगलवार बसेको सर्बदलीय छलफलले अबस्थालाई सामान्य गर्न प्रशासनलाई आग्रह गर्ने र घटनामा संलग्न जो कोहीलाई पनि राजनीतिक संरक्षण नगर्ने सहमति गरेसँगै प्रशासनले कर्फ्युलाई केही खुकुलो बनाउँदै लगेको थियो । प्रहरीमाथि छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । घटनामा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधखोज गर्ने काम गरि रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *