धनगढीमा सुदूरपश्चिम महोत्सव शुरू, मुख्यमन्त्रीलाई सात किलोको माला
धनगढी । धनगढीमा विहीबारदेखिसुदूरपश्चिम महोत्सव शुरू भएको छ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको महोत्सव यस वर्ष निर्धारित समय भन्दा ढिलो गरि शुरू भएको हो ।
विहीबार एक भव्य समारोहकाबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महोत्सव उद्घाटन गरे । सो अवसरमा मुख्यमन्त्री भट्टलाई सात किलोको माला पहिर्याइएको थियो ।
कैलाली उद्योग वणिज्य संघको आयोजनामा शुरू भएको महोत्सव २० गतेसम्म सञ्चालन हुने संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । उनका अनुसार महोत्सवमा झण्डै तीन सय स्टलमा राखिएको छ ।
२०६३ सालदेखि देशका प्रमुख कार्यकारीलाई विभिन्न मागहरू राखेर सञ्चालन हुँदै आएको महोत्सवले अहिले भने एक सुत्रीय माग राख्दै आएको छ ।
धनगढीमा सार्वजनिक कार्यक्रम गर्न स्थान अभाव भएको भन्दै कैलाली उद्योग वाणिज्य संघले महोत्सवमार्फत प्रदर्शनी स्थल निर्माणको माग गर्दै एक सुत्रीय माग गर्दै आएको छ ।
यस अघिका वर्ष प्रदेश प्रहरी कार्यालयको मैदानमा हुँदै आएको महोत्सव यसवर्ष भने धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा शुरू भएको हो । महोत्सव प्रत्येक दिन विहान ११ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । महोत्सवमा करिब १० करोडको कारोबार हुने अनुमान गरिएको छ ।