‍ओस्कर पुरस्कार विजेता अभिनेताले प्रस्तोतालाई मञ्चमै थप्पड हानेपछि…

काठमाडाैँ । ओस्कर्स पुरस्कार वितरण समारोहमा विल स्मिथले कार्यक्रमको मञ्चमै प्रस्तोता क्रिश रकलाई थप्पड हानेको घटनाले संसारभर निकै चर्चा पाइरहेको छ । कार्यक्रमको मञ्चबाट हास्य कलाकार क्रिश रकले अभिनेता स्मिथकी श्रीमती जाडा पिङ्केट स्मिथको मुडुलो टाउकोमाथि ठट्टा गरेका थिए ।

स्मिथमाथि ठट्टा गरेपछि उनले आफू बसिरहेको स्थानबाट उठेर गइ रकलाई थप्पड हानेका थिए । त्यसपछि आफ्नो स्थानमा फर्केका उनले चिच्याउँदै ‘मेरी श्रीमतीको नाम तिम्रो मुखले नलिनु’ भनेका थिए । घटनापछि यो वर्षको उत्कृष्ट अभिनेताको पुरस्कार पाएका स्मिथले उपाधि स्वीकार गर्ने क्रममा भाषण गर्दा आँसु झार्दै माफी मागेका थिए ।

किङ रिचर्ड भन्ने सिनेमामा ख्यातिप्राप्त टेनिस खेलाडीहरू भिनस र सेरेना विलियम्सको बाबुको भूमिका खेलेका स्मिथले भने, ‘म एकेडेमीसँग र मनोनयनमा परेका अन्यप्रति माफी माग्न चाहन्छु ।’ ‘कलाले जीवनकै नक्कल गर्ने हो । उनीहरूले रिचर्ड विलियम्सका बारेमा भन्ने गरे जस्तै म बहुलठ्ठी बाबु जस्तो देखिन्थेँ । तर मायाले तपाईँलाई बहुलठ्ठी काम गराउँछ।’

पिङ्केट स्मिथमा कपाल झर्ने एलोपेसिया भन्ने रोग देखिएपछि उनले कपाल मुडुलो बनाएको प्रति क्रिश रकले ठट्टा गरेका थिए । त्यसपछि क्रिश रकले उत्कृष्ट वृत्तचित्र, बेस्ट डकुमेन्ट्री पुरस्कार हस्तान्तरण गरेका थिए । लस एन्जलसको डल्बी थियटरमा स्मिथ र रकबीच भएको घटनाबारे आश्चर्य मिश्रित प्रतिक्रिया व्यक्त भएको थियो ।

रकले जाडाको मुडुलो टाउको तर्फ संकेत गर्दै भनेका थिए, ‘आई लभ यु जाडा । म जीआई जेन २ को प्रतीक्षामा छु ।’ जीआई जेन सन् १९९७ को हलिवूड फिल्म हो जसकी प्रमुख नायिकाले शिर मुण्डन गरेकी थिइन् । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *