बलात्कारको झुटो आरोप लगाउने युवतीलाई साढे ३ वर्षकाे जेल सजाय
धनगढी । अछाम जिल्ला अदालतले बलात्कारको झुटो आरोप लगाएर युवकलाई फसाउन खोजेको ठहर गर्दै एक युवतीलाई जेल सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले अछामकै कमलबजार नगरपालिकाकी १९ वर्षीया युवतीलाई बलात्कारको झुटो आरोप लगाएर युवकलाई फसाउन खोजेको अभियोग पुष्टि गर्दै साढे तीनवर्षको जेल सजाय तोकेको हो ।
अदलतले बलात्कार आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय एक युवकलाई भने सफाइ दिएको छ । युवकले तत्काल विवाह नगर्ने भनेपछि युवतीले आवेगमा उनले आफूलाई बलात्कार गरेको उजुरी दिएको तर आरोप झुटो भएको पुष्टि भएपछि युवतीलाई कैद सजाय सुनाइएको जिल्ला अदालतले जनाएको छ ।
झुटा मुद्दामा फसाउने प्रयत्न गरेबापत् मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ दफा २१९ अनुसार तीन वर्ष छ महिना कैद हुने ठहर गरेको पनि अदालतले जनाएको छ । ती युवतीले युवकलाई माघ १५ गते राति आफ्नै घरमा बलात्कार गरेको भन्दै माघ १७ गते उजुरी दिएपछि प्रहरीले नन्दरामलाई कमलबजार नगरपालिका–६ गैरीटाँडबाट पक्राउ गरेको थियो ।