उद्घाटन र शिलान्यासमा नेताहरू, इटहरीमा फोहोर प्रशोधन केन्द्र उद्घाटन

विराटनगर । पछिल्लो समय नेताहरू उद्घाटन र शिलान्यासमा व्यस्त देखिन्छन् । स्थानीय निर्वाचन नजिकिँदै गर्दा दलका नेताहरू उद्घाटन तथा शिलान्यासमा व्यस्त भएका छन् । आफ्नाे सरकारले शुरू गरेकाे याेजना तथा कामकाे जस अर्काे सरकारले लिन नपाओस् भनेर पनि नेताहरू याे समय बढी उद्घाटनमुखी भएका छन् ।

त्यसाे त आफ्नाे नेतृत्वकाे सरकारकाे दिनगन्ती शुरू भएकाेले पनि नेताहरूकाे व्यस्तता बढेकाे हाे । अहिले केन्द्रदेखि स्थानीय सरकार प्रमुखहरू बढी यसैमा व्यस्त छन् ।

०००

बिहीबार [आज] मात्रै इटहरी उपमहानगरपालिकाले- १० मा बनेकाे फोहोर प्रशोधन केन्द्रकाे उद्घाटन भयाे । फोहोर प्रशोधन केन्द्रबाट ग्यास उत्पादन थालिएको भन्दै त्यसको पनि उद्घाटन गरिएकाे हाे । यसकाे उद्घाटन प्रदेश नं. १ का पूर्वमुख्य मन्त्री भीम आचार्य र इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चाैधरीले संयुक्त रूपमा गरेका छन् ।

यस्तै आजै इटहरी उपमहानगरपालिका ७ स्थित बहुवर्षे सडकको पनि उद्घाटन भएकाे छ ।

इटहरी उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र बेस्न्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको त्रिपक्षीय साझेदारीमा फोहोर प्रशोधन केन्द्र संचालनमा ल्याइएको हाे । केन्द्र सञ्चालनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत विश्व बैंककाे ६० प्रतिशत अनुदान र बेस्न्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको ४० प्रतिशत लगानीमा फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको उपमहागरपालिकाका मेयर चौधरीले जानकारी दिए । इटहरी उपमहानगरपालिकाले जग्गा, त्यहाँसम्म पुग्ने सडकको कालोपत्रे र पर्खाल लगाउने कार्य गरेको सुनाए ।

इटहरीमा प्रत्येक दिन ५५ टन फोहोर संकलन हुने गरेको उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले जानकारी दिए । फोहोर प्रशोधन केन्द्रमा प्रत्येक दिन आठ सय केजीसम्म ग्यास उत्पादन गर्न सकिने उनको भनाइ छ । ‘सड्ने फोहोरबाट मात्र ग्यास उत्पादन हुन्छ,’ उनले भनेका छन्, ‘नसड्ने खालका फोहोरलाई रिसाइक्लिङ्ग गरेर विक्री गरिन्छ ।’

प्रशोधन केन्द्रको उद्घाटन गर्दै पूर्वमुख्य मन्त्री आर्चायले नगरका लागि अत्यन्तै आवश्यकीय फोहोर प्रशोधन केन्द्र निर्माण भएर सञ्चालनमा आएकोमा खुशी व्यक्त गरे । सम्वृद्धका लागि वातावरणीय स्वच्छता अनिवार्य रहेको जनाउँदै इटहरीको फोहोरमैलाको उचित व्यवस्थापन हुन थालेको बताए ।

यस्तै प्रदेश सांसद लिलम बस्नेतले इटहरीमा चुनौतीको रूपमा रहेको फोहोर मैला व्यवस्थापनको कार्य व्यवस्थित हुनु नगरवासीका लागि खुशीको कुरा रहेको बताए ।  उपप्रमुख लक्ष्मी गौतमले पाँचवर्षे कार्यकालकै एक गौरब गर्नलायक कार्य सम्पन्न भएको बताइन् । यस्तै इटहरी उपमहानगरपालिका वडा नं १७ मा जननेता मदन भण्डारीको पूर्णकदको सालिकसहित मदन वाटिकाको आजै उद्घाटन भएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *