जीवनसँग संघर्ष गर्दै समय नपुगी जन्मिएका शिशुहरू
काठमाडाैँ । रुस र युक्रेनको युद्धबाट अति प्रभावित युक्रेनका विभिन्न क्षेत्रमा बेला नपुगी शिशु जन्मिने दर अस्वाभाविक रूपले बढेको छ । खार्किभ र ल्भिभ क्षेत्रका क्लिनिकहरूले द्वन्द्वका कारण उत्पन्न भएको तनाव र अन्य पनि कारणले गर्दा पछिल्ला केही हप्तामा समय अगावै जन्मने शिशुको सङ्ख्या तेब्बरले बढेको बताएका छन् ।
पोलिन, खार्किभको एक क्लिनिकमा जन्मिइन् । उनको तौल ३६० ग्राम मात्र छ । यो शिशुको औसत तौल भन्दा ५ गुणाले कम हो । भिक्टोरिया र उनकी जुम्ल्याहा बहिनी भेनोरिका मार्चको सुरुमा ल्भिभको पेरिनेटल अस्पतालमा जन्मिएका हुन् । जन्मिँदा भिक्टोरियाको तौल ८ सय ग्राम मात्र थियो । एक महिनापछि अहिले बल्ल उनको तौल एक किलोग्राम पुगेको छ । उनीहरूकी आमा किभबाट भागेर ल्भिभ पुगेकी थिइन् ।
यी दुई घटनाले यो युद्धको कारण कसरी युक्रेनमा समय अगावै जन्मिएका शिशुहरू जीवनसँग संघर्ष गरिरहेका छन् भन्ने प्रष्ट हुन्छ । पोलिनाको हेरचाहमा खटिएकी मेडिकल डाइरेक्टर डा. इरिना कोन्ड्राटोभाले खार्किभ क्लिनिकमा भइरहेका सुत्केरीमध्ये आधा जति आमाहरूले समय अघि नै शिशु जन्माइरहेको बताइन् ।
डा. कोन्ड्राटोभा भन्छिन्, ‘सङ्क्रमण, मेडिकल सहायताको अभाव, कुपोषण लगायत कारणले तोकिएको समयभन्दा अघि नै शिशु जन्मिने गर्छन् । ‘डोनेट्स्क’ र ‘लुहान्स्क’का बिरामी धेरै भएको कारण हाम्रोमा पहिलेदेखि नै समय अघि शिशु जन्मिने दर बढी थियो अहिले यो झन् बढेको छ । द्वन्द्व प्रभावित क्षेत्रमा महिलाले धेरै समय भिडभाडमा बिताएका कारण सङ्क्रमण बढेको हो । यस्तै बेला अति आवश्यक पर्ने मेडिकल सहायताको अभाव भयो ।’ महिलाहरू खार्किभ छोडेर भागिरहेका कारण त्यहाँका क्लिनिकमा सुत्केरी हुनेहरूको सङ्ख्या भने घटेको छ । भएकामध्ये आधा जसाेले समय नपुग्दै बच्चा जन्माइरहेका छन् ।
भिक्टोरियाकी आमा इरिना जेलेनाले बच्चा जन्माउनुअघि नै किभबाट ल्भिभ भागेकी थिइन् । उनी भन्छिन्, ‘बम आक्रमणको कारण आश्रयको लागि भाग्नुको विकल्प थिएन ।’
युद्धका सुरुवाती दिन बंकरमा बिताएका कारण नै भिक्टोरिया र उनकी बहिनी भेरोनिका समयभन्दा ७ हप्ता अघि जन्मिएको इरिनाले बताइन् । कोरिडोरको तल, प्रि-नेटल युनिटमा ओल्गा बोगाडिजा ६ महिनाको गर्भवती छिन् । उनी आफ्नो जुम्ल्याहा सन्तान जन्मिने अपेक्षा गरिरहेकी छिन् । उनी बम आक्रमण र कर्फ्युबाट आफू र गर्भमा रहेको शिशुको सुरक्षाको लागि किभबाट भागेकी हुन् । उनलाई किभबाट भागेर ल्भिभ पुग्न तीन दिन लागेको थियो । त्यो अवधिभर डरले खाना पानी नै नखाएको बोगाडिजाले बताइन् ।
उनी ल्भिभ आइपुग्दा उनको तौल साढे ३ किलो घटेको चिकित्सकले बताएका थिए । वृद्धि र विकास राम्रोसँग हुन नपाएका कारण उनको पेटको शिशु पनि खतरामा छ । रुसले क्षेप्यास्त्रमार्फत ल्भिभमा आक्रमण गर्दा पोलिन र भिक्टोरिया जस्ता कमजोर शिशुको सुरक्षा झन् चुनौतीपूर्ण बन्न पुग्यो । डा. कोन्ड्राटोभा भन्छिन्, ‘खार्किभमा आक्रमणको चेतावनी पछि हामीले यी साना शिशुलाई सघन उपचार कक्षमा लाने निर्णय गरेका थियौँ । ६ सय ग्रामको शिशुलाई घर पठाउने र अरूलाई आफैसँग राख्ने निर्णय गर्यौँ ।’
भिक्टोरियाकी आमा इरिनाको लागि यो एक दुखद र दुबिधाको विषय थियो किनभने भिक्टोरियालाई क्लिनिकमा छोडेर भेनोरिकालाई लिएर जानुपर्ने स्थिति सिर्जना भएको थियो । भावनात्मक रूपमा इरिनालाई निकै गाह्रो भयो । उनले भनिन्, ‘मेरो मुटु टुक्रा भए जस्तै भयो । एउटा बच्चा डाक्टरसँग र एउटा आफूसँग । सधैँभरि उसलाई कस्तो होला भन्ने लागिरहने । यस्तो बेलामा आफू बलियो हुनुपर्ने रहेछ ल्भिभको अस्पताललाई सुरुमा सहरकै सुरक्षित स्थानको रूपमा हेरिएको थियो । यो अस्पतालले कमजोर बिरामीलाई राख्न विशेष खालको भूमिगत बंकर पनि बनाउँदै छ ।
यो युद्ध अस्पताल लक्षित युद्ध बनेको छ यहाँका कर्मचारी चिन्तित छन् । संसारलाई प्रभाव पारेको यो द्वन्द्वभित्र भिक्टोरिया र पोलिन जस्ता शिशु बाँच्नका लागि आफ्नै लडाइँ लडिरहेका छन् । इरिनाले आफ्नी छोरीको हात इनक्यूबेटर भित्र राख्दै भन्छिन्, ‘उनी युक्रेनी हुन् र जित्ने छिन् ।’