स्थानीय निर्वाचन : के राप्रपाहरूसँग मिल्दैछ एमाले ?

काठमाडौँ । स्थानीय निर्वाचनको मिति नजिकिँदै छ । निर्वाचनका लागि करिब–करिब महिना दिन मात्र बाँकी छँदा दलहरू स्थानीय निर्वाचनमा केन्द्रित भएका छन् ।

सतही रूपमा हेर्ने हो भने मुलुकमा अहिले निर्वाचनलाई लिएर दुई ध्रुव देखिन्छ । एकातिर पाँचदलीय गठबन्धन छ भने अर्कोतिर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) । अहिले सत्तामा रहेका पाँच दलले स्थानीय निर्वाचनमा गठबन्धन बनाएरै निर्वाचनमा होमिने नीतिगत निर्णय गर्दै निर्वाचन तयारी तथा अनुगमन समिति नै बनाइसकेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठित उक्त समितिले निर्वाचन केन्द्रित गतिविधि तत्काल शुरू गर्ने नेताहरूले बताएका छन् ।

एमालेले भने पाँच दलबीच गठबन्धन भएपनि त्यसभन्दा आफू बलियो भएको दाबी गर्दै आइरहेको छ । उसले ७० प्रतिशतभन्दा धेरै जनमत आफ्नै पोल्टामा रहेको दाबी गर्दै आएको छ । यससँगै एमालेले चुनावी गतिविधिलाई तीव्रता दिएको छ । तर, एमालेले भाषणमा एक्लै लड्ने बताउँदै आएपनि अन्य दलहरूसँग गठबन्धन गर्ने कुरालाई पनि सँगसँगै अघि बढाइरहेको छ ।
एमालेले राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालसँग चुनावी गठबन्धन गर्नेगरी वार्तालाई तीव्र बनाएको छ । यसबीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै राप्रपाका महामन्त्री धवलशमशेर राणासँग भेटघाट गरेका छन् । गत बिहीबार मात्रै पनि राणाले ओलीलाई भेटेका थिए । त्यस भेटमा ओली–राणाबीच स्थानीय निर्वाचनमा मिलेर जानुपर्नेबारे छलफल भएको थियो ।

भेटपछि राणाले भनेका थिए— ‘हामीले गठबन्धन गर्नुपर्ने बाध्यता भएको छ । चुनावमा छलफल गरेर, सल्लाह गरेर मिलेर जानुपरेको छ । पाँच दललाई चुनौती दिनुपर्यो । त्यसलाई उहाँ (ओली) ले पनि सकारात्मक रूपमा लिनुभएको छ ।’

राप्रपा–एमालेबीच स्थानीय निर्वाचन र त्यसमा पनि तालमेलकै बारेमा कुराकानी भएको एक एमाले नेताले स्वीकारे । ‘छलफल भएको हो,’ ती नेताले मकालुबरसँग भने, ‘अहिलेसम्म एमालेले एक्लै लड्नेगरी तयारी गरिरहेको भएपनि अन्य दलसँग तालमेल हुँदैन भन्ने छैन ।’

एमाले महासचिव शंकर पोखरेलले भने एमाले यसपटक एक्लै लड्ने बताउँछन् । कुनै पनि दलहरूसँग तालमेल नगर्ने उनको भनाइ छ । संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘एमाले एक्लै चुनावमा जान्छ । अरूको सहारा लिँदैन । यसपटक एमालेले एक्लैले बहुमतको सरकार गठन गर्छ ।’

एमालेले राप्रपा, नेपालसँग पनि चुनावी तालमेलका लागि कुराकानी अघि बढाएका स्रोतको भनाइ छ । यसको संकेत एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले पनि गरेका छन् । ‘एमालेले दुईवटा राप्रपासँग चुनावी तालमेलका बारेमा छलफल अघि बढाएको हो ?’ भन्ने प्रश्नमा उनले भने, ‘भेटघाटका आधारमा तपाईंहरूले यस्तो प्रश्न सोध्नुहुन्छ । राजनीतिक दलका नेताहरूबीच नियमित रूपमा हुने भेटघाटलाई त्यति धेरै महत्त्वपूर्ण रूपमा लिनु हुँदैन । हाम्रो बीचमा साधारण भेटघाट हुन्छ । त्यही नै हो । यसमा खास रूपमा केही हुँदैन र भएको पनि छैन ।’

एनले ‘धवलशमशेर त हाम्रै मान्छे नै हो नि, तपाईंहरूलाई स्मरण छ कि छैन ?’ भन्दै प्रतिप्रश्न गरे । ‘उहाँ त फेरि हाम्रै मान्छे पनि हुनुहुन्छ । त्यसैले यसरी भेटघाट हुन्छ, राजनीतिक रूपमा कुराकानी हुन्छ । यसलाई सामान्य रूपमा लिनुपर्दछ ।’

०००

त्यसो त अहिले एमाले आफैँ पनि सग्लो छैन । एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको २० प्रतिशत हिस्सा लिएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । यत्ति हुँदैहुँदै पनि एमाले नेताहरूले एमालेले यसपटक पनि ७० प्रतिशत मतका साथ सरकारहरू गठन गर्ने दाबी गर्दै आएका छन् । अध्यक्ष नेपाल उनै एमालेलाई राजनीतिक क्षति पुर्याउने अभियानका साथ नयाँ दलको नेतृत्वमा छन् । तर, नेताहरूले माओवादीको एक हिस्सा आफैँसग रहेको र अन्य दलहरूबाट प्रवेश गरेकाहरूले त्यो सङ्ख्या पूर्ति गर्ने बताउँछन् ।
पूर्वमाओवादी ‘लिगेसी’ बोकेका नेताहरू रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशंकर चौधरीलगायत एमालेमा छन् । गत फागुनमा सर्वोच्च अदालतले नेकपालाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि नेकपा पुनः एक हुनुपर्ने अभियानमा लागेका उनीहरू अहिले एमालेकै कित्तामा उभिएका छन् । एमाले नेताहरू यसकै आँटमा पनि बोल्ने गरेका छन् ।

०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशवादी दलहरू एकातिर हुँदा पनि आफ्नो शक्ति क्षय नभएको उनीहरूको दाबी छ ।

०७४ सालको निर्वाचनमा एमालेले २९५ स्थानीय तह जितेको थियो भने राप्रपासहितका अन्य साना दलहरूले ३७ स्थानीय तहमा जित हासिल गरेका थिए । त्यसबेला दोस्रो भएको नेपाली कांग्रेसले २६६ स्थानीय तह जित्दा माओवादी केन्द्रले १०६ वटामा जितेको थियो ।

यस्तै तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले क्रमशः २५ र २४ वटामा जित निकालेका थिए । यसमध्ये अहिले कांग्रेसबाहेक दलहरू छुट्टिएका अवस्थामा छन् । एमाले, माओवादी केन्द्र, राजपासँगै संघीय समाजवादी फोरम अहिले राजनीति तथा कानूनी रूपमा फरक–फरक स्थानमा छन् । यस्तो हुँदा पनि दलहरूको हैसियत ठ्याक्कै छुट्याउन सकिन्न ।
तर, यही मतपरिणामलाई हेर्ने हो भने गठबन्धनसँग एमाले ठूलो अन्तरले हार्ने छ । एमालेले जितेको २९५ बाट पनि एकीकृत समाजवादीको भाग छुट्टिएको छ भने कांग्रेस र माओवादीले जितेको जम्मा सिट ३७२ हुन्छ । यो भनेको एमालेले त्यत्तिबेला जितेको भन्दा ७७ स्थानीय तह बढी हो ।

यस्तै अहिलेको गठबन्धनमा जनता समाजवादी र राष्ट्रिय जनमोर्चा पनि छन् । तर, एमालेले यसपटक गठबन्धनलाई नै पछार्ने बताउँदै आएको छ ।

चुनावी तालमेलको सम्भावना कति ?
एमाले र राप्रपा दुवैतिरका नेताहरूले ‘चुनावी तालमेल नै हुँदैन’ भनेर भन्न नमिल्ने बताएका छन् । तालमेलको सम्भावना छ (?) भन्ने मकालुखबरको जिज्ञासामा एमाले नेता नेम्वाङ्गले भने, ‘सम्भावना नै छैन हुँदैन भनेर त कसरी भन्ने हो र ? जतिबेला जे पनि हुनसक्छ । तत्कालका लागि भने हामीले हुँदैन भनेका छौँ ।’

आफ्नो पार्टीले केन्द्रबाट गठबन्धन गर्ने भनेर नलाद्ने भनाइ उनको छ । ‘हाम्रो दलले नीतिगत निर्णय नै गरिसकेको छ कि—केन्द्रबाट अथवा यताबाट स्थानीयस्तरको अधिकारलाई सुनिश्चित गर्दै जिल्ला वा पालिकास्थित कमिटीलाई नै अधिकार दिने हो । उनीहरूले नै स्थानीय आवश्यकताअनुसार गर्छन् । यहाँबाट तोकिँदैन ।’

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ पनि एमालेसँग चुनावी तालमेलको सम्भावना अझै रहेको बताउँछन् । ‘अहिलेसम्म कुनै कुराको टुङ्गो लागेको अवस्था होइन,’ उनले भने, ‘तर, तालमेलकै ढोका बन्द भएको अथवा चुनावी तालमेल नै हुँदैन वा सम्भावना नै हुँदैन भन्ने होइन ।’

यद्यपि राप्रपाले आफैँ लड्न सक्नेगरी तयारी गरिरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

‘आवश्यकताअनुसार हामी एमालेसँग तालमेल गर्न पनि सक्छौँ,’ उनले भने, ‘नभए पनि आफैँ लड्ने र निर्वाचनको उपयोग गर्नेमा राप्रपा दृढ छ ।’

सत्तारूढ दलहरूको गठबन्धनको निर्णयले पनि एमाले र अन्य दललाई गठबन्धनका लागि दबाब बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *