कंगोमा मारिएका सिपाहीका बुबा भन्छन् : अन्तिम पटक छोराको अनुहार हेर्न मन छ
सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ का लालबहादुर गुरुङको परिवार साँझको खाना खाने तयारीमा थिए । घर परिवारमा सबै कुरा मिलेको थियो । सानो परिवार भएको लालबहादुरको घरमा ठूलाे समस्या कुनै पनि भएको थिएन् ।
लालबहादुर पहिलाका दिन झैँ साँझको खाना खाइसकेपछि अर्को दिन हुने आफ्नो घरयासी काम काजको चाँचोपाँचो मिलाउँने क्रममा थिए । तर, लालबहादुरको कानमा एक्कासी नराम्रो खबर पर्यो । चैत २२ गते मंगलबार । लालबहादुरका लागि कालो दिन बन्यो ।
उक्त दिन साँझ ६ बजेतिर खाना खान तयारीमा रहेका लालबहादुरको परिवारको कानमा कंगोमा सिपाहीको जागरिमा रहेका छोरो अनिल गुरुङको मृत्युको खबर पर्यो । लालबहादुरको परिवारमा हालसम्म यस्तो घटना नभएकोले अनिलको खबरले सबैलाई निराश बनायो ।
खाना खाने तयारीमा रहेका घर परिवारमा सबै सदस्यहरू डाको छोडेर रुन थाले । विगतका दिनमा छोरा अनिलसँगै भएका यादहरू लालबहादुरको परिवारले झलझल्दी सम्झिन थाले । अतितले झन पोल्न थाल्यो । लालबहादुरको घरमा एकाएक कोलह वातावरण बनेपछि के रैछ भन्दै गाउँलेहरू जम्मा भए । मृत्यु कुरा सबैलाई थाहा भयो ।
अनिलका बुबा लालबहादुरका अनुसार अनिल कंगोमा गएको चैत ८ गते तीन महिना मात्रै भएको रहेछ । अनिल २०६६ सालमा नेपाली सेनामा भर्ना भएका थिए । अनिल साढे १२ वर्षको समय नेपाली सेनामै बिताए ।
बुबा लालबहादुरले भने, ‘छोराको दुखद मृत्यु भएको खबर मंगलबार साँझ ६ बजे मात्रै मैले पाएको थिएँ । पुस ८ गते मात्रै छोरा कंगोमा गएको थियो । तीन महिनामा नै मैले छोरा गुमाउन पुगें । यो कस्तो सजाय भोग्दै छु बुढेसकालमा ।’
अनिलकी श्रीमतीको नाम विद्या महर्जन हो । उनको छोराको मृत्यु भएपछि घरमा अब आर्थिक संकट आइलाग्ने जोखिक देखिएको छ । ‘घरमा अरू कोही पनि छैनन्, कमाउने छोराको मृत्यु भयो । भएकी एक छोरीको विवाह भइसकेको छ । अर्को छोरा सानो उमेरको र पढिरहेको छ ।’ बुबा लालबहादुरले भने । लालबहादुरले थपे, ‘अनिलको छोरा पनि सानै रहेको र गाउँकै विद्यालयमा पढदै आइरहेको छ । अब कम्तीमा राज्यले आर्थिक सहयोग गरोस् भन्ने मेरो आश रहेको छ ।’
साथै लालबाहादुरले अब अनिलको सानो छोरालाई पढाउन्, लेखाउन जस्ता कुरामा बुहारीलाई थप समस्या हुने देखिएको बताउँदै सरकारसँग आर्थिक सहयोग लागि आग्रह गरे । ‘गुर्भाकोट नगरपालिका–१४ मा बस्दै आइरहेका छौँ । हाम्रो परिवारमा आर्थिक अवस्था पनि अत्यन्तै नाजुक छ । छोराको अन्तिम पटक अनुहार हेर्न मन छ । शव ल्याइदे सरकार !’
बुबा लालबहादुरले कंगोमा विद्रोहीको आक्रमणबाट घाइते भई अस्पतालमा उपचारको क्रममा मृत्यु भएका आफ्नो छोराको शव ल्याइदिन सरकारसँग माग गरेका छन् ।
अफ्रिकी मुलुक कंगोमा शान्ति सैनिकका रूपमा खटिएका अनिलको मंगलबार विद्रोहीको आक्रमणमा घाइते भएपछि उपचारको क्रममा मृत्यु भएको थियो ।