चार दशकपछि सुर्खेतका भूमिहीनले पाए लालपुर्जा

सुर्खेत । ४० वर्षपछि लालपुर्जा पाउँदा साबिक सुर्खेतको मेहकुना गाउँ विकास समिति वडा नम्बर ७ का लीलप्रसाद शर्मा ४१ वर्षीय भए । उमेरले चार दशक काटेका शर्मा पहिलो पटक लालपुर्जा पाउँदा खुसी भएका छन् ।

यस्तै, भेरीगंगा नगरपालिका–८ का ६६ वर्षीय छविलाल राना फुरुङ्ग देखिन्थे । ६६ वर्षमा पहिलो पट्क पुर्जा पाउँदा उनी उत्साहित भएका थिए । रानाका अनुसार लालपुर्जाका लागि २०३९ सालमा नापी कार्यालय सुर्खेतको नापी टोली भेरीगंगा पुगेको थियो ।

पहिलो चरणको प्रारम्भिक नापजाँचसहित जग्गाको एकिङ्ग तथ्यांक लिएर टोली फर्कियो । त्यस बेला रानाको पनि जग्गा लालपुर्जाका लागि नापिमा परेको थियो ।

लालपुर्जा पाइने भो भनेर खुसी भएका रानाले ४० वर्षसम्म पनि लालपुर्जा पाएनन् । जग्गाको नाप जाँच गरेर फर्किएको टोली गाउँ फर्कियो न त रानाले लालपुर्जा नै पाए । देशमा कति सरकार आए । कयौँ पटक लालपुर्जा पाइन्छ भन्ने हल्ला सुनियो तर, कसैले पनि लालपुर्जा दिएनन् । उनमा लालपुर्जा पाइने आस नै मरिसकेको थियो । तर, अहिले वषौँदेखि भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा पाउँदा आफू निकै खुसी रहेको रानाले बताए ।

सरकारले चार दशक अर्थात २०३९ सालपछि पहिलो पटक पूर्वी सुर्खेतका लालपुर्जा विहीन एकसे ३६ घरपरिवारले अन्ततः लालपुर्जा प्राप्त गरेका छन् । शुक्रवार भूमि समस्या समाधानका लागि गठित भूमि आयोगले सुर्खेतको गुर्भाकोट नगरपालिका र भेरीगंगा नगरपालिकाका नागरिकलाई लालपुर्जा वितरण गरेको हो । आयोगले गुर्भाकोट नगरपालिकाको कोटमाझखर्कका ३४ घरपरिवारलाई लालपुर्जा वितरण गरेको छ ।

यस्तै, भेरीगंगा नगरपालिकाका एक सय दुई घरपरिवारले लालपुर्जा पाएका छन् । जसमा दुईवटा नेपाल सरकारका नाउँमा पुर्जा जारी गरिएको छ । भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला र जिल्ला अध्यक्ष श्रीधर पौड्यालले संयुक्त रूपमा लालपुर्जा वितरण गरेका हुन् । सुर्खेतमा धेरै जसो नागरिक लालपुर्जा पाउनबाट बञ्चित छन् । २०३९ सालको भूमि आयोगले लालपुर्जा वितरण गरेको थियो । त्यसभन्दा पछाडि सुर्खेतमा कुनै पनि भूमि आयोग लागू हुन सकेको थिएन ।

लालपुर्जा वितरण गर्दै आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले सुर्खेतका सबै नागरिकलाई लालपुर्जा वितरण गरिने जनाए । जस अनुसार आयोगले पुर्जा वितरणको काम सुरु गरिसकेको जानकारी दिए । यस्तै, कार्यक्रममा भेरीगंगा नगरपालिका–८ का वडा अध्यक्ष पदम खत्रीले विभिन्न कानुनी बाधा अड्चन भए पनि जनप्रतिनिधि र कर्मचारीहरूको निरन्तर प्रयासपछि नगरवासीलाई लालपुर्जा दिन सफल भएको बताए ।

वडा अध्यक्ष खत्रीले भने, ‘हाम्रो वडामा ६ सय ७७ जनाले लालपुर्जा प्राप्तिका लागि निवेदन दिनुभएको थियो । तर, निवेदन परेका फारमहरूमा केही प्रमाण नपुगेकोले उहाँहरूलाई पुनः प्रमाण–पत्र पेस गर्न अनुरोधसमेत गरेका छौँ ।’ आवश्यक प्रमाण कागज पुगेपछि पुनः लालपुर्जा वितरण गरिने खत्रीले बताए ।

यस्तै, भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले विगत ५०/५५ वर्षदेखि लालपुर्जाविहीन नागरिकलाई लालपुर्जा वितरण गर्न पाउँदा खुसी भएको बताइन् । आचार्यले भनिन्, ‘हामीले विगतको निर्वाचनमा प्रमुख चुनावी एजेन्डा बनाएको लालपुर्जाविहीनलाई लालपुर्जा वितरणले आज सार्थकता पाएको छ । आज आएर उक्त एजेन्डा पूरा गरेका छौँ ।

यस्तै, राष्ट्रिय भूमि आयोग सुर्खेतका जिल्ला अध्यक्षम श्रीधर पौड्यालले सुर्खेतका लालपुर्जाविहीनहरूलाई तोकिएकै मितिमा पुर्जा वितरणमा समिति लागि परेको बताए । लालपुर्जा वितरणमा आयोगको केन्द्रीय स्तरको सहयोग र कर्मचारीको साथले तोकिएकै मितिमा आयोग पुर्जा वितरण गर्न सफल भएको पौड्यालले बताए । सुर्खेतका पूर्वी क्षेत्रमा लालपुर्जा वितरणको काम सम्पन्न भएपछि पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाबाट वितरणको काम सुरु गर्ने आयोगको कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *