सहरलाई सपनासँग जोड्न सक्नुपर्छ (भिडिओ सहित)
सहरका संरचना कमजोर व्यक्तिलाई केन्द्रमा राखेर निर्माण गरौँ
सहर मानिसको सपनासँग जोडिएको हुन्छ । मानिस आफ्ना सपना पूरा गर्न सहरमा जान्छ । तर त्यहाँ पनि सपना पूरा भएनन् भने अर्को सहरमा बसाइँ सर्छ । सहर र यसको विकासलाई समग्रतामा हेर्ने हो भने धेरै कुराहरू पर्छन् । रोजगारी लगायत आर्थिक क्रियाकलाप, संरचना, शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, वातावरण, प्रविधि, सम्पदा आदि ।
हाम्रा सडक लगायत संरचनाका कुरा गर्दा यी बलियो मान्छेलाई आधार मानेर बनाइएको छ । सडक कारलाई केन्द्रमा राखेर डिजाइन गरिएको छ । जबकि सडक त ह्वीलचेयर, सेतो छडी आदि प्रयोग गर्नेहरू, पैदल यात्री, साइकल यात्री, सार्वजनिक यातायात, विद्युतीय यातायात हुँदै बल्ल निजी यातायातमा केन्द्रित हुनुपर्नेमा हाम्रोमा उल्टो अवस्था छ ।
प्रविधिको प्रयोगको कुरा केवल भाषणमा मात्र सुनिन्छ । प्रविधिको आधारमा कुनै पनि पालिकाको स्रोत साधनदेखि मानव संसाधनसम्मको जानकारी लिने, तथ्याङ्क राख्ने र परिचालन गर्ने कुरा हाम्रो प्राथमिकतामा पर्दै परेन । प्रत्येक सहरका आफ्ना आफ्नै कथा छन् । जुनै पनि सहरमा बस्ने मानिसको सपना छ । एउटा नागरिकलाई आर्थिक, सामाजिक र वैचारिक रूपमा अटाउन सक्ने त्यो सहर बन्दै छ कि छैन भन्ने कुरामा हाम्रो जोड हुनुपर्छ ।
जुन सहरमा म बस्न जाँदै छु त्यहाँ आफ्नो ज्ञान, सीपलाई प्रयोग गरेर अर्थोपार्जन गर्ने अवसर हुन्छ की हुँदैन भनेर व्यक्तिले हेर्छ नै । उसले सामाजिक रूपमा केही गर्न चाहने, पढ्न चाहने, अभिव्यक्त गर्न चाहने व्यक्तिको लागि कुनै सामाजिक संरचना हुन्छ की हुँदैन भन्ने हेर्छ । अर्को भनेको वैचारिक रूपमा जस्तै कुनै राजनितिक विचारधारा वा कुनै धर्मप्रति आस्था राख्दा त्यो धर्मलाई त्यो सहरमा सम्मान गरिन्छ की गरिँदैन भनेर उसले हेर्छ नै । आफ्नो विचार वा आस्थाको सम्मान नहुने ठाउँमा उ कसरी रहन सक्छ र ? यी तीनवटा कुरालाई केन्द्रमा राखेर सहरको विकास हुनुपर्छ । यी कुरालाई आधार मान्ने हो भने मात्रै एउटा सपनाको सहरको परिकल्पना गर्न सकिन्छ ।
प्रविधि भनेको जीवनउपयोगी हुनुपर्छ । प्रविधि र प्रकृतिलाई समायोजन गरेर लैजाने सहर नै अबको असल सहर हो । अहिलेसम्म इन्जिनियरले बनाएका सहर सबैले देखेकै र भोगेकै छौँ । इन्जिनियरले बनाएको सहरले मात्र नागरिकको आवश्यकता बुझ्दैन रहेछ । उनीहरूले बनाएको सहरले नागरिकको सेन्टिमेन्ट बुझ्न सक्दैन रहेछ । किनभने त्यो सहरको प्रयोगकर्ता त हामी आफैँ हौँ नि । नागरिकले प्रयोग नै गर्न नसक्ने सहर किन र कसका लागि बनाउने ? अहिले सहरहरू धेरै नै भौतिक संरचनाहरूमा केन्द्रित भएका छन् । जुन सहरका लागि फाइदाजनक होइन । क्षणिक फाइदा मात्र यसले दिन्छ । प्राकृतिक स्रोतहरूलाई बचाएर, पानीको स्रोतहरूको संरक्षण गरेर मात्र सहरहरू लामो समयसम्म टिकिरहन सक्छन् ।
भिडिओ:
सहर भनेको जीवन हो । सहर भौतिक संरचनाले मात्रै बन्दैन । यहाँ जीवनशैली हुन्छ । संस्कृति हुन्छ । आजभोलिको जीवन भनेको इन्टरनेटसँग बढी जोडिएको छ । त्यसैले उपयोगिताको वस्तुको उपलब्धता कति सहज हुन्छ भन्ने पनि हेर्नुपर्छ ।
अहिलेको अवस्थामा हेर्ने हो भने सबै प्रमुख सहरहरूमा खानेपानीको समस्या छ । फेरी देशका सबै सहरहरूले मेलम्ची पनि पाउँदैनन् । भनेपछि अबको सहरमा खानेपानी कहाँबाट आउँछ त ? पछिल्लो समय काठमाडौँलाई नै हेर्ने हाभे भने वायु प्रदूषण उच्च छ । यसका कारकहरू के हुन् त ? यी कुराहरूमा हामी किन प्रकृतिलाई आधारभूत मानेर विकास गरिरहेका छैनौँ ? दिगो यातायात प्रणालीमा किन गइरहेका छैनौ ? बिजुलीबाट चल्ने गाडी, सार्वजनिक यातायात प्रणालीमा किन गई रहेका छैनौँ ? यी कुराको समाधान नहुँदासम्म सपनाको सहर पुरा हुन सक्दैन । यी कुरा व्यक्तिले गर्न सक्ने कुरा होइनन् । तर एउटा नागरिकले पनि आफ्नो सपनाको सहर बनाउनको लागि केही भूमिकाहरू भने अवश्य खेल्न सक्छ । जस्तै साइकलमा यात्रा गर्नेको जमात बढ्यो भने नगर अथवा सरकारले साइकलयात्रीको लागि केही गर्नुपर्याे भनेर पहल गर्न सक्छ । पैदल यात्रीले आफ्नो आवाज उठाउन थाले मलाई फुटपाथ चाहियो हिँड्ने ठाउँ चाहियो भन्न थाले भने त्यसमा पनि सरकारको चासो बढ्न सक्छ । अर्को भनेको जीवनशैलीमा पनि परिवर्तन ल्याएर आफ्नो सहरलाई बनाउन सकिन्छ । सहरको लचकताले मात्र सहरको भाइब्रेसनलाई बढाउँछ । भन्नुको मतलब सहरमा कति मानिस अटाउँछन् र उनीहरूलाई अति आवश्यक उपभोग्य बस्तु जस्तै खानेपानी, खाद्यान्न कसरी उपलब्ध गराउने भन्ने सोच राखेर सहर डिजाइन हुनुपर्छ । तेस्रो कुरा वातावरणीय हिसाबले पनि सहर बस्न योग्य हुनुपर्यो । स्वच्छ हावा हुनुपर्यो, स्वच्छ खानेपानी हुनुपर्यो, खाली ठाउँ हुनुपर्यो । त्यस्तै संरचना बनाउँदा वर्षाको पानीलाई सञ्चित गर्न सकिन्छ । छत र कौसीलाई हरियाली बनाउन सक्ने गरी विकासको अभ्यास गर्न सकिन्छ । यस्ता धेरै उपायहरू हुन सक्छन् ।
सहर भनेको जीवन हो । सहर भौतिक संरचनाले मात्रै बन्दैन । यहाँ जीवनशैली हुन्छ । संस्कृति हुन्छ । आजभोलिको जीवन भनेको इन्टरनेटसँग बढी जोडिएको छ । त्यसैले उपयोगिताको वस्तुको उपलब्धता कति सहज हुन्छ भन्ने पनि हेर्नुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आर्थिक क्रियाकलाप हो । सहरमा आर्थिक क्रियाकलापहरू हुन्छन् र ती क्रियाकलापलाई कसरी २४ घण्टा सुचारु राख्ने भन्ने व्यवस्था हुनुपर्छ । जस्तै रातको समयमा रेष्टुरेण्टहरू खोल्ने, सम्पदा अवलोकन गर्ने स्थलहरू खुला राख्ने, प्रकाश व्यवस्थापन जस्ता विविध खालका कामहरू छन् । यस्ता कामहरू भएमा मात्र सहर सपनाको सहर हुन सक्छ ।
सहर कसका लागि बनाउने काम भइराखेको छ भन्ने कुरामा राज्य र सरकारी संयन्त्र नै प्रस्ट छैनन् । राज्यले एउटा अभिभावकले हिँडेर अथवा साइकल चढेर आफ्नो बालबालिका स्कुल पुर्याउने वातावरण हुनुपर्यो । एकजना वृद्ध आमा पैदल यात्रा गरी मन्दिर पुगेर सहजै फर्केर आउनसक्छु भन्ने वातावरण अहिले छैन । भनेपछि यो सहर कसका लागि बन्दैछ त ? सरकार बलियो छ र उसले बनाउने संरचना पनि बलियोको लागि नै बनाउने भन्ने मानसिकता छ । तर त्यसको गर्नु हुँदैन सहर कमजोरको लागि बनायो भने बलियोको लागि यत्तिकै पनि सजिलो हुन्छ । बाटो केटाकेटी, अपाङ्गता, वृद्धको लागि सहज हुने बनाए अरू बलिया नागरिकलाई त यसै पनि सहज हुन्छ नै । अहिले हामी स्थानीय चुनावको मुखमा छौँ । स्थानीय चुनाव नै एउटा राम्रो प्लेटफर्म हो जहाँ यी कुराहरूलाई एजेन्डा बनाएर राम्रो व्यक्ति चुनेर, यो अवसरको सदुपयोग गर्नको लागि । हामीले चुनेका जनप्रतिनिधि हाम्रो लागि कति तयार छन् भनेर सोच्ने यो सही समय हो । पछिल्लो ५ वर्षमा कतिपय कामहरू राम्रो पनि भएका छन् । केही गल्तीहरू पनि भए तर त्यसो भन्दैमा हामीले यो प्रणाली नै चल्दैन भन्नु हुँदैन । यही प्रणालीलाई बलियो बनाएर लैजानुपर्छ र त्यसो गर्न सकिन्छ पनि । युवा उपस्थितिलाई वडामा पनि प्रोत्साहन गरेमा वा परिवर्तन ल्याउन सकेमा अबको ५ वर्ष सहरका लागि विशेष बन्न सक्छ ।
सबैलाई समेट्ने सहरको निर्माण भएन भने नागरिकले त्यहाँ केही कुरेर बस्दैन । त्यसैले तथ्याङ्कको आधारमा जनमुखी सहर निर्माण गर्नु अबको सहर डिजाइनको मुख्य उद्देश्य हुनुपर्छ ।
अबको चुनावमा हामीले सबैभन्दा पहिले भौतिक संरचनाबारे भिजन के छ भन्ने हेर्नुपर्छ । बाटोघाटो, खाली चौर, पुल, नहर, भवन लगायतका सार्वजनिक प्रयोगका संरचनाबारे भिजन के छ ? त्यो कत्तीको नागरिक केन्द्रित छ की छैन ? सहरको वातवरणसम्बन्धि चेत कत्तिको छ ? सहरको पर्यावरण र खानेपानी जस्ता विषयमा कति केन्द्रित छ ? भन्नेमा ध्यान दिनुपर्छ । सङ्गै भवनलगायतका संरचनासम्बन्धी कति प्रभावकारी कामहरू गर्न सक्छ भन्ने पनि हेर्नुपर्छ । यातायात, पैदल बाटो र निजी सवारी साधन सम्बन्धी के धारणा छ ? यो पनि बुझ्नुपर्छ । अहिले पनि नेपालको धेरै सहरहरूमा सार्वजनिक यातायात चल्दैनन् । त्यस्तो ठाउँलाई पनि सहर भनेर हामी दङ्ग परेर बसिरहेका छौ । बितेको ५ वर्ष बाटोको मुद्दामा धेरै काम भएका छन् ।
तर, अवको वर्षमा भने सार्वजनिक यातायातको मुद्रामा काम गर्नसक्ने उम्मेद्वार छान्न तयार हुनुपर्छ । सहरको परिचयलाई बुझेर सहरलाई जीवन्तता दिने मान्छे छान्नुपर्छ । गएको ५ वर्षमा सरकारले के के गर्याे ? सहरमा के कति परिवर्तन भयो भनेर तथ्याङ्क सङ्कलन गर्नु आवश्यक छ । यही तथ्यका आधारमा सहरको पुनः निर्माण गर्नुपर्छ । यसमा नागरिक र युवाको सहभागितामा जोड दिनुपर्छ । होइन भने हाम्रा सहर केही समयपछि युवा नै नहुने बृद्धआश्रम जस्तो हुन सक्छन् । सबैलाई समेट्ने सहरको निर्माण भएन भने नागरिकले त्यहाँ केही कुरेर बस्दैन । त्यसैले तथ्याङ्कको आधारमा जनमुखी सहर निर्माण गर्नु अबको सहर डिजाइनको मुख्य उद्देश्य हुनुपर्छ ।