कंक्रिटले कक्रक्क पारेको काठमाडौँमा हराइरहेका हितिहरू
‘राजमती कुमति जिके वासा पिरती हाय बाबा राजमती चा…..’ नेपाल भाषाको अति प्रख्यात यो गीतमा काठमाडौँ उपत्यकाकी सुन्दर युवती राजमती र उनलाई एक युवकले गरेको प्रेमको प्रसंग छ । यै गीतमा ‘मरुहिति ल कावँम्ह तगौ ल्होटे लूफिँ हाँना राजमती थसपाल न्हा’ भन्ने एउटा अन्तरा छ, जसको अर्थ हुन्छ ‘मरुहितिमा पानी लिन गएकी राजमती ठूलो ढुङ्गामा चिप्लिएर लडिन् ।’
यो गीतले काठमाडौँ उपत्यकामा खानेपानी र सरसफाइको मुख्य स्रोत नै ढुंगेधारा अर्थात हितिहरू हुन् भन्ने बुझाउँछ । तर कुनै बेला उपत्यकामा पानी आपूर्तिको प्रमुख श्रोत रहेका हितिहरू धेरैजसो नासिइसके । बचेका केहीमा पनि पानी आउँदैन । एकाध हिति भने अलिअलि रसाइरहेका छन् ।
थहिति, कोहिति र मरुहिति गरी काठमाडौँ उपत्यकामा तीनवटा ठूला हिति छन् । यिनै हितिको पानी पिएर काठमाडौँवासी तिर्खाएको आफ्ना आँत भिजाउने गर्थे । तर अहिले यी तीनवटै हिति संरक्षणको अभावमा अलपत्र छन् । कतै फोहोर पानी बग्न नसकेको दह देखिन्छ भने कतै तप तप चुहिएर आफ्नो अस्तित्व नै संकटमा परेर आँसु चुहाइरहेका जस्ता देखिन्छन् ।
तीव्र भौतिक विकासका कारण पानीका मुहान सुकेपछि त्यहाँका बासिन्दा नै बसाईँ सर्नुपरेका धेरै उदाहरण पाइन्छ । सम्पदाविद्हरू यसरी खानेपानीको स्रोतहरू हराउनु र मासिँदै जानुले मानव सभ्यतालाई नै जोखिम हुने बताउँछन् ।
तत्कालीन फाइदाका लागि बिना योजना नै कंक्रिकले भरिएका भौतिक संरचनाको तीव्र विकास र अव्यवस्थित सहरीकरणले काठमाडौँका ढुङ्गेधाराहरू सुक्दै गएका सम्पदाविद् तथा अभियन्ता आलोकसिद्धि तुलाधर बताउँछन् । काठमाडौँमा अस्तित्वकै संकटमा रहेका हितिहरूको संरक्षणका लागि महानगरपालिका र अन्य निकायले पनि खासै चासो दिएको पाइँदैन ।
काठमाडौँको स्वरूप फेरियो, सम्पदा मासिँदै गए । कुनै समय उर्वर जमिनका ठुला फाँटले भरिएको काठमाडौँ उपत्यकामा अहिले धमाधम घर फलिरहेका छन् । अर्कोतिर जनसंख्या बढेर पनि थेग्नै नसक्ने हुँदा त्यसको प्रभाव यहाँका स्रोतहरूमा परेको छ । यही दबाब थेग्न नसक्दा यहाँका हितिहरू लोप हुने अवस्थामा पुगेका हुन् । तुलाधर काठमाडौँ उपत्यकामा रहेका ढुङ्गे धारामा बग्ने पानीको आपूर्ति नेटवर्कलाई दिगोपनको खाका मान्छन् ।
किनभने काठमाडौँका हिति र ढुङ्गे धारा घुम्दा त्यहाँ लिच्छविकालीन कलाकौशलका साथै शिलालेखहरू पनि भेटिन्छन् । जसबाट त्यहाँ १४ सय वर्षदेखि निरन्तर पानी बगिरहेको प्रमाणित हुने तुलाधर बताउँछन् । प्राकृतिक रूपमा जमिनबाट निस्कने पानीलाई ढुङ्गे धारामा खस्ने गरी बनाइएको यो नेटवर्क दिगो छ भन्ने प्रशस्त प्रमाण छन् ।
पुर्खाले हिति संरक्षणका लागि आफ्नै नियम बनाएका थिए । प्रकृतिको पूजा गर्ने, शुभ कार्यलगायत पूजाआजामा पानी चढाउने जस्ता चलनले पानीको श्रोतलाई धेरै महत्त्व दिएको प्रस्ट हुन्छ । सबै हितिमा कलात्मक तरिकाले मकरको आकृती कुँदिएको हुन्छ । हिन्दु धर्मअनुसार मकरलाई गंगाको वाहनको रूपमा पूजा गर्ने चलन छ । यसले गर्दा धारो वरिपरि फोहोर गर्न नहुने र पानीको स्रोतलाई पूजा गरेर धर्म हुने विश्वास पनि गरिन्छ । पानीको मुहान फोहोर गर्न नहुने कुरा त स्वास्थ्य र पर्यावरणका हिसाबले पनि महत्त्वपूर्ण प्रमाणित भइसकेको कुरा हो ।
काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो हिति मंगल बजारमा रहेको मणिहिति हो भन्ने प्रमाण भेटिएको छ । उक्त हिति इस्वी संवत् ५७० मा एक भारविद्वारा निर्माण गरिएको प्रमाण रहेको तुलाधर बताउँछन् । मर्मत सम्भार र संरक्षण कम मात्रै भए पनि मणिहितिमा अहिले पानी आइरहेको छ ।
यसरी प्राकृतिक रूपमा नै शुद्ध भएको पानी, भौगोलिक उचाइ र गुरुत्वाकर्षण बलमा आधारित भएर हितिहरूमा बग्ने गर्छ । खानेपानीको माग बढे अनुसार अझै महत्वका साथ संरक्षण हुनुपर्नेमा हितिहरू अझ ओझेलमा पर्दैछन् र सुक्दैछन् ।
यसको मुख्य कारण अहिले भइरहेको अव्यवस्थित सहरीकरण र कङ्क्रिटका संरचनामा दिइएको जोड नै मुख्य कारण भएको तुलाधर बताउँछन् । यसले पानी फिल्टर गर्ने भूमिगत संरचनाहरू ध्वस्त बनाएको उनको तर्क छ । पहिले हितिको संरक्षण गर्न ‘गुठी’ भन्ने अमूर्त संरक्षण प्रणाली थियो । त्यसका सदस्यले हिति संरक्षण र मर्मत सम्भारको काम गर्थे । तर दुर्भाग्यवश अहिले ती गुठीहरू छैनन् र हितिहरू पनि लोप हुँदै छन् । ‘पुर्खाको इतिमा पानी जमेको, फोहोर भएको, हिति ब्लक भएको खोल्ने प्राकृतिक विधि नै थियो ।
इतिमा जमेको पानीमा भ्यागुता छोडेर, सर्प खान भ्यागुता आउँदा यी दुई प्राणीले हिति ब्लक भएको पनि खोल्थे । यो प्राकृतिक बिहिले कुनै हानी नपुर्याई सफा गर्न मद्दत गर्थ्यो । अहिले उपत्यकाका धेरै नदी पोखरी र इतिमा जीव जनावर बस्न नसक्ने गरी प्रदूषित बनाइएको छ । जलस्रोतसँगै जीवको वासस्थान पनि मासिँदै छ । उपत्यकाको अस्तित्व जोगाई राख्न र खानेपानीको दिगो समाधान गर्न हिति संरक्षण अनिवार्य रहेको तुलाधरको भनाइ छ ।