निर्वाचनलाई भयरहित बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण

सुर्खेत । निर्वाचन आयोग नेपालकी निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले पत्रकार र राजनीतिक दलहरूको स्थानीय तहको निर्वाचनमा महत्त्वपूर्ण भूमिका रहेको बताएकी छन् । उनले वीरेन्द्रनगरमा मंगलबार भएको निर्वाचन आचारसंहिता र आम सञ्चार क्षेत्रमा मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।

तुलाधरले राज्यको चौथो अंगको रूपमा रहेको सञ्चार जगतले स्थानीय तहको निर्वाचनमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनको लागि महत्त्वपूर्ण भूमिका रहो बताइन् । साथै पत्रकारहरूले नै आमनागरिक र मतदाताहरूलाई मतदान सम्बन्धित ज्ञानका विषयमा समाचारबाट सूचना दिने र आयोग र मतदाताको सम्बन्ध नजिक बनाएको भन्दै धन्यवाद व्यक्त गरिन् । तुलाधरले भनिन्, ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनको लागि पत्रकारको मुख्य भूमिका रहने छ । त्यसैले आयोगले अगाडी सारेका नीति, नियम, कार्यविधि र आचारसंहिताको आधारमा रिपोर्टिङ गर्नु आवश्यक छ ।’

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनलाई कम खर्चिलो बनाउनका लागि निर्वाचन आचारसंहिता बनाइएको बताउँदै यसको कार्यान्वयनका सन्दर्भमा मिडिया क्षेत्रबाट पूर्ण सहयोग प्राप्त गर्नेमा आयोग विश्वस्त रहेको उल्लेख गरिन् । निर्वाचनका बेला मतदाता नामावली संकलन, आचारसंहिता पालना, मतदान, मतगणना र सुरक्षा व्यवस्थापन लगायतका क्रियाकलाप सम्पन्न गर्नमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने भन्दै पत्रकारले निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता भित्र रही मतदातामा सत्य तथ्य सूचना सम्प्रेषणमा सहयोग गर्न आग्रह गरिन् ।

निर्वाचनको सञ्चालन, रेखदेख, र नियन्त्रणमा आयोग कटिबद्ध भएकाले यसलाई अगाडी बढाउन मिडियाको सहयोगबिना आयोग एक्लैले केही गर्न नसक्ने तुलाधरले बताइन् । आफ्ना सूचना, विचारहरूलाई सन्तुलित गरेर प्रकाशन र प्रसारण गर्न अनुरोध गर्दै तुलाधरले भनिन्, सामाजिक सञ्जालको नीति ल्याइएको छ । त्यहीँ नीति भित्र रहिअघि बढ्न तुलाधरको आग्रह छ । निर्वाचन आयोगको काम कारबाहीका बारे जान्नु परेमा वा निर्वाचनसँग सम्बन्धित कुनै जिज्ञासा भए ११०२ मा फोन गरेर आवश्यक जानकारी लिन सकिने छ ।’

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पत्रकारले दिने सत्य सूचनाले प्रशासनलाई गलत गर्ने व्यक्तिहरूलाई पहिचान गर्न सजिलो हुने बताए । उनले भने, ‘आजको कार्यक्रमले पत्रकारलाई निर्वाचन केन्द्रित समाचारहरू लेख्नमा महत्त्वपूर्ण भूमिका खेल्ने छ । साथै हामीलाई पनि सत्य समाचार पढ्न पाउने र गलत प्रचारलाई छुट्टाउन सहयोग गर्ने छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *