दरबारमार्ग महोत्सव शनिबार, आन्तरिक पर्यटन प्रबर्द्धनमा जोड

काठमाडौँ । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा शनिबार काठमाडौँको दरबारमार्गमा १५ औँ दरबारमार्ग महोत्सवको आयोजना हुन लागेको छ ।

नारायणहिटी दक्षिण गेटमा सजाइएको विशेष मञ्चबाट महोत्सवको औपचारिक शुुभारम्भ हुने भएको छ । सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिको प्रस्तुतीका साथ महोत्सवको औपचारिक शुभारम्भ हुनेछ ।

महोत्सवको चहलपहल भने बिहान ११ बजेबाटै शुरु हुनेछ । यससम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएका छन् ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना हुन लागेको
हो । महोत्सवको मूल नारा सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रबर्द्धन’ रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेसँगको विषेश सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो ।

गीतसंगित, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुती र महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिसहित यो महोत्सव बेलुका ८ः१५ बजेसम्म आयोजना गरिनेछ ।

चर्चित गायकगायिका, कलाकार तथा सांगीतिक समूहहरूको प्रस्तुति, स्वदेशी उत्पादनको विषेश प्रदर्शन स्टलहरु र बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विषेश आकर्षण रहने छन् ।

महोत्सवमा दीपक बज्राचार्य, कबवेब, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुरसुधा लगायत अन्य कलाकार तथा समुहहरु जस्तै एभरेष्ट क्रु, महेश काफ्ले, र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिँदै आगन्तुकहरुलाई गीतसंगितले मनोरञ्जन दिनेछन् । साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल एण्ड सुमन कोइरालाको प्रस्तुती रहनेछन् ।

महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामाग्रीहरु पनि प्रदर्शनीमा राखिने छन् । त्यसैगरी महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा रहने छन् । महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन् ।

हाल ९० प्रतिशत बढि जनसंख्याले कोभिड विरुद्धको खोप लगाई सकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा निजी क्षेत्रको सहकार्यमा आयोजना हुन गइरहेको यस महोत्सवले आर्थिक क्रियाकलापलाई जागरुक बनाउने विश्वास गरिएको छ ।

महोत्सवको मुख्य प्रायोजकमा एनसेल रहेको छ भने सह–प्रायोजकमा गोरखा व्रुअरी र रोयल स्ट्याग रहेका छन् । महोत्सवको बैकिङ् पाटर्नरमा एनआइसी एसिया बैंक, इन्सुरेन्स पाटर्नरमा नेशनललाईफ इन्सुरेन्स, विभरेज पाटर्नरमा डाबर नेपाल, अन्य सहयोगी पाटर्नरमा नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका, मनकामना केवलकार, केएफसी, पिजा हट, फोन पे, एनडीज् आइसक्रिम, नेपाल डेरी रहेका छन् ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट सिथिल भएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ । कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरूत्थान, नव उत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम भैरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरुको छ ।

महोत्सवको शुभारम्भ समारोहमा आयोजक संस्थाका पदाधिकारीहरू, मुख्य प्रायोजक प्रायोजक संस्थाका पदाधिकारीहरू, उद्यमी व्यवसायीको उपस्थिति रहने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *