हुम्लामा पनि भत्कियो गठबन्धन
सुर्खेत । हुम्लामा पनि गठनबन्धन नहुने भएको छ । सोमबार बसेको सत्तारुढ तीन दलबीचको बैठकले चुनावी गठबन्धन नगर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस पार्टी कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकपछि आ–आफ्नै दलको बैठक पनि बसेपछि गठबन्धन भत्किएको हो
स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि हुम्लामा सत्तारुढ दलले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष शिवराज शर्माले बताए ।
शर्माका अनुसार तीन दलबीच भएको बैठक पालिकाको भागबन्डा बाँडफाँटमा कुरा मिल्न नसकेपछि स्थानीय आवश्यकताका आधारमा समीकरण गर्ने निर्णय गरेको बताए ।
सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको माओवादी केन्द्र हुम्लाका संयोजक डा. दीपेन्द्र रोकायाले जानकारी दिए ।
यस्तै, एकीकृत समाजवादीले राखेको कांग्रेस र माओवादीबीच तीन–तीन गाउँपालिका र एकीकृत समाजवादीलाई एक गाउँपालिका दिनुपर्ने प्रस्तावमा कांग्रेस सहमतिमा पुगे पनि माओवादीले चार वटा गाउँपालिका आफूले पाउनु पर्ने अडान् राखेका कारण बैठकले भागबण्डा मिलाउन नसकेको कांग्रेसका हुम्ला सभापति मोहनविक्रम सिंहले बताए ।
यसअघि चैत २१ गते नेपाली कांग्रेस जिल्ला सभापति मोहनविक्रम सिंहको अध्यक्षतामा बसेको बैठकले तीनवटा निर्णय गर्दै आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।