बिमस्टेक बैठक अपडेट; ऊर्जा सुरक्षामा प्रतिबद्ध हुन नेपालको जोड
मकालु खबर
२०७९ वैशाख ७ गते
काठमाडौँ – बिमस्टेकअन्तर्गत ऊर्जामन्त्रीहरूको तेस्रो बैठकमा नेपालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धता अपरिहार्य भएकामा जोड दिएको छ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठकमा ऊर्जा सुरक्षमा जोड दिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आज सम्पन्न भर्चुअल बैठकमा बिम्स्टेक मुलुकका करिब एक अर्ब ७० करोड जनताको भविष्यलाई दृष्टिगत गरी ऊर्जा क्षेत्रले सामना गरिरहेका गम्भीर समस्यालाई सम्बोधन गर्न पारस्परिक विश्वास, भावी प्रयासहरूमा स्पष्टता र उद्देश्यमा इमानदारी अत्यन्त महत्वपूर्ण भएको बताएकी छन्।
आजको हाम्रो विचार–विमर्शले बिमस्टेक क्षेत्रमा ऊर्जा सहयोग अभिवृद्धि गर्न योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उहाँले ऊर्जाको लागि पर्याप्त वित्त परिचालनका साथै प्रविधि हस्तान्तरणलाई बढावा दिनुपर्ने बताएकी हुन्। सदस्य राष्ट्रका अर्थतन्त्रबीच सबै पक्षमा बढेको अन्तरसम्बन्धले क्षेत्रीय सहयोगको भावनालाई वास्तविकरूपमा अगाडि बढाउन मद्दत मिल्ने उनले बताइन्। काठमाडौँमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलनमा बिमस्टेक ‘ग्रिड इन्टरकनेक्सन’ स्थापनाका लागि भएको समझदारीको चर्चा गर्दै उनले भनिन्, “ऊर्जा व्यापार एउटा महत्वपूर्ण विषय हो यसले हाम्रा देशहरूमा बिजुलीको बर्बादी र ऊर्जा अभावको जोखिमलाई कम गर्न सक्छ।”
ऊर्जा सधैँ बिमस्टेक प्रक्रियाको महत्वपूर्ण प्राथमिकताको क्षेत्रका रूपमा रहेको तथा यस क्षेत्रमा ऊर्जा सहयोग प्रवर्द्धनका निम्ति निरन्तर प्रयास भएका बताउँदै ऊर्जा मन्त्री भुसालले अनुभव आदानप्रदान, क्षमता अभिवृद्धि र उत्कृष्ट अभ्यासहरूलाई प्रवर्द्धन गरेर ऊर्जा क्षेत्रमा सहकार्य, समन्वय, सहजीकरण गर्नुपर्नेमा जोड दिएकी छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हरेक सङ्कट अवसर लिएर आउँछ भन्दै कोभिड–१९ सङ्कटलाई हरियाली, सुरक्षित र थप दिगो बङ्गालको खाडी क्षेत्रको प्रवेशद्वार बनाउनुपर्ने बताउँदै उनले भनिन्, “यसनिम्ति ऊर्जामा बलियो र नवीकृत क्षेत्रीय साझेदारी महत्वपूर्ण हुनेछ।”
जलवायु अनुकूलनका निम्ति नवीकरणीय एवं दिगो ऊर्जा अहिलेको आवश्यकता भएको ऊर्जामन्त्री भुसालको भनाइ छ।
मकालु खबर
२०७९ वैशाख ७ गते
प्रतिक्रिया
सम्बन्धित