डिआइजीमा पदोन्नति भएका चारजनालाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । पदोन्नति भएका चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७९ वैशाख ८ को निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन्।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व संगठनको श्रीवृद्धिको लागि निर्वाह गर्नुपर्ने बताए। आगामी निर्वाचन भयरहित, निष्पक्ष र विधिवत तवरले सम्पन्न गर्न आफू मातहत प्रहरी कर्मचारीको नेतृत्व गर्न पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकलाई उनले निर्देशन दिए।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्यायले संगठनमा आबद्ध सदस्यमार्फत् भाइचारा र सहयोगात्मक भावनालाई बढाउँदै संगठनको श्रीवृद्धिका लागि सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे। समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति रहेको थियो।