जुम्लाको तिलामा आगलागी हुँदा एकै घरका तीनसहित चार बालबालिकाको मृत्यु
सुर्खेत । जुम्लाको तिला गाउँपालिका आगलागीमा परी एकै घरका तीनसहित चार बालबालिकाको मृत्यु भएको छ । गएराती भएका गाउँपालिका-३ सार्कीवाडामा भएको आगलागीमा परी चार बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले मकालुखबरलाई जानकारी दिइन् ।
उनकाअनुसार राति करिब साढे ११ बजेतिर आगलागी भएको थियो । स्थानीय मानसिंह सार्कीको घरमा आगलागी हुँदा उनका १ वर्षीय छोरा दीपेश, ३ वर्षीया छोरी बसना र ११ वर्षीया अनु सार्कीको मृत्यु भएको छ भने सँगै सुतेकी १४ वर्षीया तिर्सना सार्कीकाे पनि मृत्यु भएको छ । उनी मानसिंहकी भान्जी रहेको प्रजिअ प्रसाईँले बताइन् ।
रातीनै प्रजिअसहित, एसपी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पुगेर बिहान ३ बजे आगो नियन्त्रणमा लिइएको थियो । घरमा रहेका अन्य तीन जना बेहास अवस्था रहेका उपचारको लागि कर्णाली स्वास्थ्य प्रतिष्ठानमा पठाइएको छ ।
घर पुरै जलेर नष्ट भएको छ भने कसरी आगलागी भएको हो भन्ने खुलेको छैन । क्षतिको सङ्कलन र आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।