कांग्रेसबाट तारक बुढाऐर बने अमरगढीमा मेयरको उम्मेदवार
डडेल्धुरा । डडेल्धुरा नेपाली कांग्रेस डडेल्धुराले जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकाको मेयरमा तारकबहादुर बुढाऐरलाई अगाडि सारेको छ ।
अमरगढीको नगरप्रमुखको दौडमा कांग्रेसका नेता तथा अधिवक्त हरिप्रसाद भट्ट पनि थिए । यद्यपि अन्तिममा मेयरको टिकट बुढाऐरले पाए । भट्ट एक महिनादेखि ‘हरि भट्ट जिताउ अभियान’ चलाइरहेका थिए ।
अमरगढीमा यसअघिको निर्वाचनमा नेकपा एमाले बाट विशेश्वरप्रसाद ओझा विजयी भएका थिए । कांग्रेसको किल्ला मानिने अमरगढीमा उनले त्यसबेला कांग्रेसका उम्मेदवार डिल्लीराज जोशीलाई १ सय २८ मतले पराजित गरेका थिए ।
अमगरगढीको मेयरका लागि नेकपा एकीकृत समाजवादीबाट नगरप्रमुखमा तीन जनाको नाम सिफारिस भएको छ। हालका नगर उपप्रमुख संगिता भण्डारी, अधिवक्ता विष्णु भट्ट र नेता भीम कैनी सिफारिस भएका छन् । यस्तै उपप्रमुखमा विरेन्द्र बस्नेत, लक्ष्मी गैराल, बसन्त भण्डारी र तीर्थ भण्डारीलगायतका सिफारिस भएको छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रले अमरगढी नगरपालिको मेयरमा लक्ष्मण सिंहलाई उम्मेदवार बनाएको छ ।
यस्तै, नेकपा एमाले ँमेयरका लागि आठ जना र उपप्रमुखका लागि तीन जनाको नाम सिफारिस गरेको छ । मेयर पदमा हालका मेयर विशेश्वर प्रसाद ओझा (विपीन), जिल्ला अध्यक्ष प्रकाश साउद, प्रदेश कमिटी सदस्य यज्ञराज अवस्थी, प्रदेश सदस्य तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य करन ताम्राकार, पाटीको जिल्ला उपसचिव अञ्जु गैरे, ज्ञानेन्द्र जोशी, भीम रोकाया र जीत ताम्राकारको नाम सिफारिस गरेको छ ।
यस्तै, उपप्रमुखमा जिल्ला कमिटी सदस्य इन्दिरा ताम्राकार, जिल्ला कमिटी सदस्य कलावती कठायत र अनेमा संघकी जिल्ला सचिव कुमारी फुल चौधरीको नाम सिफारिस भएको छ ।
काँग्रेस सभापति देउवाको गृृहजिल्ला डडेल्धुरामा गठबन्धन दलबीच कुरा नमिलेपछि दलहरुले आ–आफ्नै उम्मेदवार खडा गरेका हुन् ।