एमालेबाट पोखराको मेयरमा दीपक पौडेल, उपमेयरमा मन्जु गुरुङ दोहोरिने

पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाउने भएको छ । सचिवालय बैठकले पौडेललाई मेयर उठाउने निर्णय गरेको हो । उनको नाम मेयरमै नगर कमिटीबाट सिफारिस भएको थियो ।

गुरुङले भने कुनैपनि पदमा नउठ्ने बताएकी थिईन् । उनले पार्टीको आन्तरिक प्रतिश्पर्धामा नाम समेत लेखाएकी थिईनन् । गुरुङलाई उपमेयरमै दोहो¥याउने निर्णय एमालेले गरेको छ । मेयरका उम्मेद्वार पौडेल लामो समय शिक्षण पेशामा सक्रिय थिए ।

अध्यापन छोडेपछि उनी एमाले पोखराको अध्यक्ष भएर एक कार्यकाल काम गरे । उनी खासै परिचित अनुहार होईन । पार्टीभित्र पृथ्वीसुब्बा गुरुङ निकट मानिने उनलाई मेयर बनाउन गुरुङले नै बढी जोडबल गरेको बुझिन्छ ।

यहाँको मेयरका लागि एमालेबाट १२ जना र उपमेयरका लागि ९ जनाको नाम केन्द्रमा सिफारिस भएको थियो । केन्द्रीय सदस्य खगराज अधिकारी र उपमहासचिव गुरुङबीचको टकरावले बलियो दावेदारका रुपमा हेरिएको पुर्व मेयर तथा प्रदेशसभा सांसद कृष्ण थापालाई गुरुङले नै रोकेका हुन् । उनले प्रदेशमा पुनः एमाले सरकार बन्न सक्ने र त्यतिबेला सांसद आवश्यक पर्ने भन्दै मेयरमा टिकट दिन नहुने बक्तब्य दिएका थिए ।

उपमेयर गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी हुन् । उनको केन्द्रीय नेताहरुसँग पनि राम्रो पहुँच छ । अघिल्लो चुनावमा पोखरामा एमालेबाट मेयर मानबहादुर जिसीले करिव १४ हजार मतान्तरले चुनाव जितेका थिए भने उपमेयरमा गुरुङले करिव १२ हजार मतान्तरले जितेकी थिईन् । अहिले पार्टी विभाजन र गठबन्धनका कारण एमालेलाई पूरानो शाख जोगाउन बढी नै जोड गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *