एमाले इलाम नगर कमिटीले नै दियो सामूहिक राजीनामा, अन्य पालिकामा के भए उम्मेदवार ?
विराटनगर । नेकपा एमाले इलाम नगर कमिटीका २३ जनाले सामूहिक राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचन २०७९ लाई लिएर उम्मेदवार छनौटमा असन्तुष्टि जनाउँदै नगर कमिटीका अधिकांशले राजीनामा दिएका हुन् ।
इलाम नगरपालिकाको नगर प्रमुखको उम्मेदवारमा नेकपा एमाले नगर कमिटीको सिफारिस एवम् परामर्श विपरीत उम्मेदवार अमुक व्यक्तिको नाम उम्मेदवारमा सिफारिस भएको सामाजिक सञ्जालबाट सार्वजनिक भएको विषयले नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएका छन् ।
सिफारिस भएको भन्दा विपरीत गएर अर्को व्यक्तिलाई उम्मेदवार बनाउने निर्णयविरुद्धमा उनीहरूले संयुक्त राजीनामा दिएका हुन् । ‘कोही कसैलाई कुटिल षड्यन्त्रको सिकार बनाउन खोजिएकोले पार्टी संगठन स्थानीय आवश्यकता र भूगोलको चाहना विपरीत उम्मेदवारलाई बोकेर निर्वाचन हाँक्न नसक्ने निष्कर्षमा पुग्न बाध्य भएका छौँ,’ सामूहिक राजीनामा पत्रमा भनिएको छ, ‘यो हल्लामा आएको नाम सत्य हो र त्यसलाई तत्काल परिवर्तन नगर्ने हो भने नगर कमिटीले निर्वाचनमा उम्मेदवारलाई बोकेर हिँड्न साथै चुनाव जिताउन नसक्ने अवस्था रहेको यथार्थ जानकारी सहित संयुक्त राजीनामा दिइएको छ ।’
सामूहिक राजीनामा दिनेमा नगर अध्यक्ष तिलक ठकुरी, उपाध्यक्ष दीपेन्द्र चपाइगाई, सचिव ठाकुरनारायण श्रेष्ठ, उपसचिव नरद लम्साल सहितका २३ जना छन् । नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतले जिल्ला अध्यक्ष महेश बस्नेतले निर्णय कार्यान्वयन गराउन नसक्ने भन्दै राजीनामा आएको पुष्टि गरे ।
उनले नगर तहबाट उठेको विवादलाई पार्टीले प्रदेशबाट सच्याएर पठाउनु पर्ने बताए । इलाम नगरपालिकाको मेयरमा नरेन्द्र भट्टराईलाई सिफारिस गरिएपछि उपमेयरमा टिकट पाएकी चित्रमाया गुरुङले नै मेयर स्वीकार नगरेको एमालेका नेताहरुले बताएका छन् ।
यी पालिका टुङ्गियो
इलाम नगरपालिकामा विवादित भएपनि देउमाई नगरपालिकाको प्रमुखमा सूर्यप्रसाद पोखरेल र उपप्रमुखमा पबिमायाँ राई, माई नगरपालिकामा खम्बुसिंह लिम्बू र हिमा भण्डारी प्रमुख उपप्रमुखमा उम्मेदवार बनाउने निर्णय भएको छ।
सूर्योदय नगरपालिकामा अहिलेका प्रदेश सांसद काजिमान कागतेलाई प्रमुख र उपप्रमुखमा दुर्गादेवी भट्टराईलाई उम्मेदवार बनाएको छ । सन्दकपुरमा उदयराई र तुलसा ढकाल, माई जोमाईमा कुशबहादुर थेबे र साबित्रा भट्टराईलाई प्रमुख र उपप्रमुख बनाउने निर्णय भएको एमाले इलामका अध्यक्ष बस्नेतले जानकारी दिए ।
रोङ गाउँपालिकामा मेयरमान तामाङ र बिष्णुमायाँ भुजेल , चुलाचुलीमा ओम नारायण खनाल र दिलकुमारी लावतीलाई प्रमुख उपप्रमुखमा उम्मेदवार बनाउने भएको छ। माङ्सेबुङमा हेमन्त राई र सुनिता सुब्बा तथा फारफोकथुम गाउँपालिकामा दीपेन्द्र खनाल र कल्पना राई क्रमशः प्रमुख उपप्रमुख बनाउने निर्णय भएको एमाले इलाम अध्यक्ष बस्नेतले बताए ।