मनोनयन शुरु भइसक्दापनि प्रदेश १ मा कांग्रेसले टुङ्ग्याएन उम्मेदवार
विराटनगर । नेपाली कांग्रेसले मनोनयन दर्ताको दिनसम्म पनि अझै उम्मेदवार को बनाउने भनेर निर्णय गर्न सकेको छैन । आइतबार र सोमबार निर्वाचन आयोगले मनोनयन दर्ताकोलागि समय सीमा दिएको भएपनि अहिलेसम्म प्रदेश १ का धेरै पालिकाहरूमा उम्मेदवार छनौट हुन नसकेको हो ।
आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको समय शुरु भइसक्दा समेत गठबन्धनको कारण उम्मेदवार छनौटमा सकस देखिएको हो । प्रमुख सत्ताघटक नेपाली कांग्रेसले आइतबार बिहानसम्म पनि प्रदेश एकका सबै जिल्लाका उम्मेदवार कसलाई बनाउने भन्ने मात्र पनि टुङ्गो लगाउन नसकेको नेपाली कांग्रेस प्रदेश कमिटीले जनाएको छ ।
कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले पहाडी छ जिल्लामा उम्मेदवार तय गर्ने काम भइरहेको बताए । ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, धनकुटा र तेह्रथुम जिल्लाका उम्मेदवार तय भइसकेको उनको दाबी छ । अरू पालिकामा अहिलेसम्म छनौटमा अलमल देखिएको छ। जिल्ला तहबाट प्रदेशमा उम्मेदवार सिफारिस नै नपुगेको कारण छलफल अघि बढ्न नसकेको रायमाझीको भनाई छ ।
उम्मेदवार बन्नेहरूको नाम पार्टीको पालिकास्तर हुँदै जिल्ला र प्रदेशसम्म पठाउनु पर्ने प्रावधान छन् । गठबन्धन गर्ने भनिएपछि पालिका र जिल्ला अन्यौलता हुँदा प्रदेशमा पालिका र जिल्लाबाट सिफारिस हुनु पर्ने नाम नै प्राप्त नभएको प्रदेश समितिको भनाई छ। प्रदेश १ का १३७ पालिका मध्ये एक महानगर र २ उपमहानगरपालिकाको निर्णय केन्द्रले गर्ने भएपनि अन्य पालिकाको निर्णय प्रदेश समितिले गर्ने भनिएको छ । कांग्रेस प्रदेश समितिले राजनीतिक रूपले महत्त्वपूर्ण मानिएका झापा, मोरङ र सुनसरीका उम्मेदवार छान्ने विषयमा छलफल नै शुरु गरेको छैन ।
मोरङ जिल्लामा आज सबै पालिकालाई नाम सिफारिस गर्न भनिएकोले साँझसम्ममा सबै पालिकाबाट नाम आएपछि जिल्ला प्रदेशमा नाम सिफारिस गर्ने उपसभापति भक्तिनाथ माझीले बताए । ‘अहिलेसम्म केही पालिकाबाट नामहरू आएका छन्,’ उनले भने, ‘हामीसम्म आएका नामलाई जिल्ला समितिले निर्णय गरे प्रदेशमा पठाउँछौँ ।’ मोरङ र सुनसरीमा जिल्ला संयन्त्रबाट हुने गठबन्धनको सम्भावना टरेको कांग्रेस नेताहरूले बताउँदै आएका छन् ।