कैलालीको लम्कीचुहाको मेयरमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी
२०७९ वैशाख १२ गते
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट दुई जनाको उम्मेदवारी दर्ता भएको छ । मेयर पदमा सुशीला शाही र भक्तबहादुर थापाले उम्मेदवारी दर्ता गराएको लम्कीका निर्वाचन अधिकृत हिरालाल चौधरीले बताएका छन्।
नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले सुशीला शाही नै आधिकारिक उम्मेदवार भएको बताएका छन् भने जिल्ला सचिव नृपबहादुर सुनार भक्तबहादुर थापा आधिकारिक उम्मेदवार भएको बताउँछन् ।
कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले पार्टीले जसलाई आधिकारिक मान्छ उसले रुख चिन्हबाट चुनाव लड्न पाउने बताएका छन् ।
शाहीलाई पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले र भक्त थापालाई प्रदेश सभापति वीरबहादुर बलायरले टिकट दिएको बताइएको छ ।
२०७९ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित