आईजीपीका ४ प्रतिस्पर्धी : जेष्ठता कि, भूगोल बन्ला निर्णायक ?

नेपाल प्रहरीमा नेतृत्व परिवर्तन हुन अब मात्रै ५ दिन बाँकी छ । वैशाख १९ गतेदेखि प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले अनिवार्य अवकासमा जाँदै छन् । उनी ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश हुन लागेका हुन् ।

उनको अवकाशपछि ११ महिनाका लागि नयाँ आईजीपी आउनेछन् । जसका लागि चार जना एआईजीहरु प्रतिस्पर्धामा छन् । एआईजीहरु विश्वराज पोख्रेल, सहकुल बहादुर थापा, धिरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुक छन् । यी मध्ये दुई जनालाई एमालेले र दुई जनालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको हो ।

चारै जनालाई एआईजीमा बढुवा गर्दा दुवै सरकारले नयाँ दरबन्दी थपेका थिए । यी चारै जना एउटै ब्याचका हुन् तर यी मध्ये सबैभन्दा पहिले विश्वराज पोख्रेल एआईजी भएका हुन् । उनलाई एमाले सरकारले एआईजी बनाएकाले आईजीपी बन्ने बलियो आधार अहिलेको सरकारको रोजाइ भन्दा पनि बरियतामा अगाडि हुनु हो । बाँकी दुई प्रतिस्पर्धी धिरज र रविन्द्रभन्दा उनी झण्डै डेढवर्ष पहिले एआईजी भएका थिए । जेष्ठताका आधारमा आईजीपी नियुक्त भए उनी निर्विकल्प हुन् ।

तर एमाले नेतृत्वको सरकारले नै पोख्रेलको विकल्पमा सहकुल थापालाई एआईजीमा एकल बढुवा गरेको थियो । पोख्रेलको विकल्पमा अगाडि सारिएका थापा पनि एआईजी भएको १० महिना पूरा भएको छ । बाँकी दुई प्रतिस्पर्धीभन्दा उनी पनि जेष्ठतामा अगाडि छन् । वर्तमान सरकारसँग आईजीपी बन्न उनले पनि निकटता बढाएका छन् ।

पोख्रेललाई सरकारले बढुवा नगरे उनी आफू हुने दौडमा छन् । यी दुई एआईजीको बलियो आधार भनेकै जेष्ठता हो तर शेरबहादुर देउवाले जेष्ठता कम र भूगोल बढी हेर्ने गरेको आरोप लाग्ने गरेको छ ।

नभन्दै उनले एआईजी बढुवामा पनि यसलाई पुष्टि गरिसकेका छन् । नेपाल प्रहरीमा तीन जनालाई एआईजीमा बढुवा गर्दा तीनै जना पश्चिमका परेका थिए । बरियतामा पछाडि भए पनि उनीहरुलाई देउवाकै दबाबमा बढुवा गरिएको थियो । बरियतामा आफूभन्दा पछाडि रहेकालाई एआईजी बनाइएको भन्दै अझै सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन छ ।

डीआईजीहरु धनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले अदालतमा रिट दायर गरेका थिए । उनीहरु तीनै जना धिरज सिंह र रविन्द्र धानुकभन्दा अगाडी थिए । तर देउवाका अगाडी बरियतालाई भूगोलले मिच्यो ।

भूगोलसँगै धिरज सिंहको बलियो आधार गठबन्धन सरकार पनि हो । गठबन्धनका माओवादी र एकीकृत समाजवादी पोख्रेल र थापालाई आईजीपी बनाउन रुचाउँदैनन् ।

माओवादी र कांग्रेसका साझा पात्र हुन सक्छन् धिरज सिंह । त्यो हिसावले पनि उनको संभावना बलियो छ । प्रहरी नियमावलिमा पनि जेष्ठताकै आधारमा आईजीपी नियुक्त गर्नु पर्ने बाध्यात्मक व्यवस्था छैन । सरकारले चाहेमा एआईजी मध्यबाट आफूलाई उपयुक्त लागेको व्यक्तिलाई आईजीपी बनाउन सक्छ । धिरज सिंहले यसैको फाइदा लिन सक्छन् ।

आईजीपीकै अर्का प्रतिस्पर्धी हुन् रविन्द्रबहादुर धानुक । उनी देउवा र अर्थमन्त्री जनार्दन शर्मा दुवैसँग निकट छन् । यसअघि एआईजीमा गृह मन्त्रीले रोक्न चाहे पनि बढुवा भएका थिए । धानुकले विगतमा पनि देउवासँग निकटमा रहेर काम गरिसकेका छन् । जसको फाइदा उनले पनि उठाउन सक्छन् ।

देउवाकै बलमा आईजीपी नियुक्त गर्दा यसअघि जयबहादुर चन्दविरुद्ध नवराज शिलवाल सर्वाेच्च अदालत पुगे । सर्वाेच्चले चन्दलाई रोक्यो तरपनि देउवाले शिलवाललाई आईजीपी नियुक्त गरेनन् । प्रकाश अर्याललाई आईजीपी बनाइदिए । देउवाले ‘रिक्स’ लिन सक्ने भएकाले नै अहिले आईजीपी को बन्छ भन्ने अन्यौल बढेको हो ।

अब बन्ने आईजीपी २०७९ चैतसम्म रहनेछन् । त्यसपछि आईजीपीसँगै २०४९ चैतमा भर्ना भएको ब्याच नै अनिवार्य अवकाशमा जानेछन् । यो ब्याच हालका आईजीपी थापाकै वैकल्पिक ब्याच हो । १० महिनापछि भने हालका एसएसपीहरु नेतृत्वमा पुग्नेछन् ।

यसअघि सशस्त्र प्रहरीको आईजीपीमा भने बरियतामा अगाडी रहेका पुष्पराम केसीलाई नैनियुक्त गरेका थिए । यस्तै यता नेपाल प्रहरीमा रिक्त भएको चार डीआईजीमा पनि बरियतामा अगाडि रहेका चार जनालाई नै बनाएका थिए । देउवाले कहिले बरियता र कहिले भूगोलका आधारमा निर्णय गर्दै आएका छन् । त्यही भएर पनि यसपटकको आईजीपी नियुक्तीमा बरियता भर्सेस भूगोलको लडाईँ देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *