कारबाहीपछि मल्लको प्रतिक्रिया- ‘छैटौँ पटकमा कारबाही गर्न सफल हुनुभयो सहर्ष स्वीकार गर्छु’
धनगढी । नेपाली काँग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य नेता कर्णबहादुर मल्ललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । मल्लले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको काँग्रेसले जनाएको छ ।
पार्टीले कारबाही गरेपछि नेता मल्लले काँग्रेस सभापति शेरबहादुर देउवालाई बधाई दिँदै कारबाही सहर्ष स्वीकार गर्ने प्रतिक्रिया दिएका छन् । ‘विधिवत् रूपमा पार्टी सञ्चालन हुनुपर्छ भनेर आवाज उठाउँदै गर्दा मलाई पटक-पटक कारबाही गर्ने प्रयास गरियो,’ उनले भने, ‘यसपटक सभापति देउवा कारबाही गर्न सफल हुनुभयो, उहाँलाई बधाई छ । म यो कारबाही सहजै स्वीकार पनि गर्छु ।’ उनले आफूलाई कारबाही गरिएको बारे सञ्चार माध्यमबाट थाहा पाएको बताए ।
सभापति देउवाले प्रजातान्त्रिक काँग्रेसका पालामा पनि सदस्यताबाट निष्कासन गरेको उनले बताए । काँग्रेस एकीकरणपछि देउवाले आफूलाई पाँचौँ पटक कारबाही गर्न प्रयास गरेको र छैटौँ पटकको अथक प्रयासपछि कारबाही गर्न सफल हुनुभएको बताए । आफू जिल्ला सभापति भएकै बेला नेपाली काँग्रेस डडेल्धुराको सातौँ जिल्ला अधिवेशनमा सहभागी हुन नपाएको दुखेसो पोख्दै उनले भने, ‘प्रजातान्त्रिक दल भित्रको निरंशता खेप्न नसक्ने इमानदार नेता कार्यकर्ताहरू कार बाईँको सिकार हुनुपर्ने अवस्था आउनु दुर्भाग्य हो ।’
यो पनि : डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति मल्ल पार्टीबाट निष्कासित
प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको पाँचौँ र छौटौं जिल्ला अधिवेशनबाट देउवाले नचाहेरै जिल्ला सभापति बनेका मल्ल डडेल्धुराको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित प्रदेश सांसद हुन । १४औँ राष्ट्रिय महाधिवेशनका क्रममा सभापति देउवाले केन्द्रबाटै झण्डै ९ सय क्रियाशील सदस्यता थपघट गरेर आफूलाई कमजोर बनाउन खोजेको मल्लको आरोप छ । त्यसपछि क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन माग गर्दै मल्ल नेतृत्वको जिल्ला कार्यसमितिले केन्द्रीय कार्यालयसम्म पुगेर अनसनसहित विरोधका कार्यक्रम गरेको थियो ।
मल्ल नेतृत्वको जिल्ला कार्यसमितिका अधिकांश पदाधिकारीहरू, प्रदेश सभा क्षेत्रीय समितिका पदाधिकारीहरू र स्थानीय तहका पदाधिकारीहरू राजधानीमा आन्दोलन गरिरहेका बेला डडेल्धुरामा सातौँ जिल्ला अधिवेशन सम्पन्न गरिएको थियो । आसन्न स्थानीय तहको निर्वाचनका क्रममा पनि मल्ल निकटस्थ नेता कार्यकर्ताहरूलाई टिकटबाट वञ्चित गरिएको मल्लको आरोप छ । निर्वाचनमा पनि वञ्चित गरिएको भन्दै मल्ल समूह जिल्लामा नेपाली काँग्रेस (बिपी) गठन गरेर एमालेसँग चुनावी तालमेल गर्दै निर्वाचनमा होमिएको छ । एमाले र नेपाली काँग्रेस (बिपी) ले तालमेल गर्दै जिल्लाका सातै स्थानीय तहमा उम्मेदवारी दर्ता गरेका छन् ।
जस अनुसार अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका नेपाली काँग्रेस (बिपी) ले र नेकपा (एमाले) ले परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएको छ ।