सप्तरीमा दलित युवकको हत्या !

जनकपुरधाम । सप्तरीका एक दलित युवककाे हत्या भएकाे छ । स्वतन्त्र उम्मेदवारी दिन सघाएको निहुँमा खडक नगरपालिका- ४ का सन्तलाल पासवानकाे हत्या भएकाे यहाँका स्थानीय तथा प्रत्यक्षदर्शीहरूले बताएका छन् । यहाँका प्रजिअ जनार्दन गाैतमले भने चुनाव वा उम्मेदवारीकाे विषय नभइ पासवान र चाैधरी समूहबीच झडप हुँदा सन्तलाल घाइते भएकाे र उपचारका क्रममा मृत्यु भएकाे बताए । ‘केही दिनपहिले त्यहाँ पासवान र चाैधरी समुदायका सदस्यहरूबीच झडप भएकाे रहेछ,’ उनले भने, ‘त्यहाँ उहाँ घाइते हुनुभएपछि र उहाँलाई विराटनगर उपचारका लागि पठाइएकाेमा उहाँ आजै बित्नुभएकाे हाे ।’

आसन्न स्थानीय तहकाे निर्वाचनका लागि साेही वडाकाे वडाध्यक्षमा स्वतन्त्र रूपमा महादेव पासवानले उम्मेदवारी दर्ता गराएका थिए । उनलाई सघाएकाे भन्दै साेही दिन राति २५ वर्षीय सन्तलाललाई चाैधरी समूहले आक्रमण गरेकाे बताइएकाे छ । साेही क्रममा सन्तलाल घाइते भएकाे र तत्कालै विराटनगरकाे नाेबेल अस्पाताल पठाइएकाेमा उनकाे मृत्यु भएकाे हाे ।

सन्तलालकाे मृत्युपछि स्थानीयहरूले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । यसपछि स्थानीय प्रशासनले थप कदम चालेकाे प्रजिअ गाैतमले बताए । एकजनालाई नियन्त्रणमा समेत लिइएकाे उनले जानकारी दिए । इलाका प्रहरी कार्यालय, कडरबोनाका प्रहरी निरीक्षक बालिस्टर सिंहले पनि स्वतन्त्र उम्मेदवारलाई सघाएकै कारण हत्या भएकाे जानकारीमा नभएकाे बताए । यद्यपि स्थानीयहरूले भने सघाएकै कारण हत्या गरिएकाे बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *