इको प्रेमपत्र
इको प्रेमपत्र
प्रिय परदेशी
त्यो हिउँद विदेश उड्दा भनेका थियौ तिमीले
‘तिम्रो बाउआमाले घरज्वाँई बनाएर राखे पनि बस्ने छैन म तिम्रो सहर
रेनफोरेष्टझैँ मौलाइरहेको हाम्रो प्रेमलाई
प्लास्टिकको मैलासरी फ्याँकेर तिमी अरब लागेका थियौ ।
तिमी मेरो आँखाबाट ओझेल परेपछि
घाँसेमैदान जस्तै मेरो मन दुःखको डढेलोले जलिरह्यो
जसरी जलिरहन्छन् पहाडहरू
जसरी जलिरहन्छन् जंगलहरू
जसरी जलिरहन्छन् सुकुम्वासी बस्तीहरू
म डढेलोको धूवाँहरूमा रुमलिँदै जलिनै रहेँ ।
स्वच्छ, शून्य र हरित यो सहर
हल्ला र कोलाहलको अन्तरघुलन
दुर्गन्ध र सुगन्धको मिश्रण
धुलो र धुवाँको सङ्गम
यिनै परिवेशमा समाहित हुँदै जिउन बाध्य तिम्री प्रेमिकाको घर हो यो सहर ।
ए प्रवासी,
तिमीले भिसामा च्यापेर लगेको यो सहरको अनुभव
अब त्यस्तो छैन
मेरो आँखामा सहजै झल्केको देख्न सक्नेछौ हिमाल
मेरै आँखाको कौसीबाट हरदिन मुस्काइरहन्छ चोमोलोङ्मा
मेरो कानको नजिकै आएर तिमी प्रेमिल सुसेलीहरू हाल्न सक्नेछौ
म तिम्रा सङ्गीतसरि कानेखुसीहरू सुनिरहने फुर्सदमा छु ।
सवारी साधनका कर्ण छेदन हर्नहरू
विवाह र भोजहरूमा चर्को आवाजमा बज्ने माइकहरू
मन्दिर र गुम्बाबाट गुन्जने घण्टीहरू
हवाई जहाजहरूबाट निस्कने गगनभेदी ध्वनिहरू
केही पनि सुन्नु छैन मलाई
म सुन्न व्याकुल छु हावाका रोमान्टिक सरसरावट
म सुँघ्न आतुर छु निख्खर माटोको सुगन्ध ।
प्रिय परदेशी,
साँच्ची एउटा कुरा भनौँ है-
लामो समयपछि घरबाट निस्किएकी थिए तिम्रो सम्झनाको न्यास्रो मेट्न
सडकमा कोरिएका सेता धर्काहरूलाई पच्छ्याउँदै
जेब्रा क्रसिंगलाई क्रस गर्दै
मलाई हाम्रा रहरहरूले कुत्कुताएझैँ लाग्यो ।
ठुस्स गनाएन बाग्मती…
पुलचोक काटेर पारी तर्दा
परेन पखाल्न खर्च गरेर ब्युटिपार्लरमा मेरो कपाल
लागेन बालुवाका कणहरू खसर खसर दाँतमा
पुतली सडकबाट हिँडेर बागबजार आइपुग्दा
लागेन मेरो सेतो स्यान्डलमा हिलो ।
एउटा कुरा पक्का हो
तिमी फर्केर आयौ भने क्वारेनटाइन बस्न पर्ने छैन
म, सिधै तिमिलाई दिलको घरभित्र प्रवेश दिनेछु
हामी हराउनेछौँ प्रेमको हरियो जंगलमा ।
- कवि एक दशकभन्दा लामो समयदेखि वातावरण साहित्य लेखनमा सक्रिय छन् । आधा दर्जन कृतिका लेखक हितान भूतपूर्व बेलायती सेना पनि हुन्, हाल बेलायत सरकारमा वातावरण विज्ञको रूपमा कार्यरत छन् ।