डडेल्धुराको अमरगढीमा कांग्रेस (बिपी)का उम्मेदवारलाई दुई स्वतन्त्र उम्मेदवारको समर्थन
धनगढी । डडेल्धुराको अमरगढी नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता लिँदै नेपाली काँग्रेस (बिपी)का उम्मेदवारलाई समर्थन जनाएका छन् । स्वतन्त्रबाट मेयरका उम्मेदवार दानबहादुर पाल र ललितबहादुर तमोलीले शुक्रबार आफ्नो मनोनयन फिर्ता लिँदै काँग्रेस बिपीका उम्मेदवार हरिप्रसाद भट्टलाई समर्थन गरेका हुन् ।
उनीहरूले बिपीका उम्मेदवार भट्टसहित एमालेका उपमेयर यज्ञराज अवस्थीलाई पनि समर्थन गरेका हुन् । डडेल्धुरामा नेपाली काँग्रेस (बिपी) र नेकपा एमालेबीच चुनावी तालमेल छ । नेपाली कांग्रेसका निवर्तमान सभापति कर्ण मल्लले नेपाली काँग्रेस (बिपी)मा प्रवेश गर्दै एमालेसँग चुनावी तालमेल गरेका छन् ।
अमरगढी नगरपालिकामा मेयरका दुई स्वतन्त्र उम्मेदवारसहित १६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै उम्मेदवारी फिर्ता लिनेमा उपमेयरकी स्वतन्त्र उम्मेदवार सरस्वती अवस्थी, वडा नम्बर १ का अध्यक्षका स्वतन्त्र उम्मेदवार सुरत तमोली रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुराले जनाएको छ।
त्यसैगरि जनता समाजवादी पार्टी नेपालबाट अमरगढी-५ का वडाध्यक्षका उम्मेदवार श्याम सिनाल, वडा नम्बर ६ बाट सामाजिक एकता पार्टीकी वडाध्यक्षकी उम्मेदवार जानकी ताम्राकार र नेकपा एमालेबाट वडा नम्बर १० का अध्यक्षका उम्मेदवार विष्णुराज भट्टले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै वडा नम्बर १ मा राप्रपाकी महिला सदस्यकी उम्मेदवार गीता चन्द पनेरु, वडा नम्बर २ बाट कांग्रेस (बिपी)का सदस्यका उम्मेदवार मोहन सिंह विष्ट, वडा नम्बर ३ बाट माओवादी केन्द्रका सदस्यका उम्मेदवार राज टमट्टा, वडा नम्बर ५ बाट दलित महिला सदस्यमा माओवादी केन्द्रका शान्ति जैरु र ज्ञानूदेवी दमाईले उम्मेदवारी फिर्ता लिएकी छन् ।
वडा नम्बर ६ बाट समाजवादी एकता पार्टीकी सदस्यका उम्मेदवार बब्लु टमटा र वडा नम्बर १० बाट नेपाली कांग्रेस (बिपी)की महिला सदस्यका उम्मेदवार पार्वतीदेवी भण्डारी, दलित महिला सदस्यकी उम्मेदवार मायाकुमारी चुनारा र सदस्यका उम्मेदवार नरबहादुर झुकाल र नेकपा एमालेका उम्मेदवार नरबहादुर ऐरले उम्मेदवारी फिर्ता लिएका छन् ।