विराटनगर विमानस्थलमा विमान दुर्घटनाको उद्धार अभ्यास (तस्वीरसहित)
विराटनगर । विराटनगर विमानस्थलमा आइतबार बिहान करिब ८ बजेतिर एकाएक आगोको मुस्लो देखियो । क्षणभरमै नजिकै रहेका दमकल, एम्बुलेन्सहरू साइरन बजाउँदै दाैडिन थाले । त्यसको केही बेरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पनि दौडधुपमा थिए ।
स्वास्थ्यकर्मी पनि त्यसैगरि दौडिरहेका थिए । विमानस्थलको आगोको मुस्लो नजिकैबाट केही बिरामी जस्ता देखिने व्यक्तिहरूलाई त्यहाँबाट बाहिर ल्याउने काम हुँदै थियो । लाग्थ्यो विमानस्थलभित्र दुर्घटना भएर घाइतेहरूको उद्धार हुँदैछ । नजिकै ल्याइएका उनीहरूलाई एम्बुलेन्समा हालिन्थ्यो र अस्पतालतर्फ पठाएको देखिन्थ्यो । यो क्रम झण्डै एक घण्टासम्म चल्यो ।
विमानस्थलभित्रको यो दृश्य बाहिरबाट हेर्नेको लागि निकै अनौठो थियो, बाहिरबाट हेर्दै गरेकाहरू झस्किन्थे । बाहिरबाट झट्ट हेर्दा लाग्थ्यो विमानस्थलभित्र कुनै दुर्घटना भएको छ ।
यो कुनै घटना या कुनै दुर्घटना नभई विराटनगर विमानस्थलभित्र कुनै दुर्घटना भइहालेको अवस्थामा गरिनु पर्ने उद्धारको बारेमा अभ्यास गरिएको थियो । आइतबार बिहान नागरिक उड्डयन प्राधिकरण सहित सुरक्षा निकायले विमानस्थल भित्र हुने दुर्घटनालाई क्षति हुन नदिनको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उद्धार अभ्यास गरेको हो । अभ्यासको क्रममा आधार दर्जन बढी एम्बुलेन्स, दमकल, ठूलो संख्यामा सुरक्षाकर्मी, एयरलाइन्स कम्पनीका कर्मचारीहरू सहितको टोलीले अभ्यास गरेको हो ।
आईकाओको मापदण्ड अनुसार हरेक दुई वर्षमा यस्ता अभ्यास हुने गरेको विराटनगर विमानस्थल प्रशासनले जनाएको छ । विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलका अनुसार, वार्षिक नयाँ रणनीति सहितको समीक्षा र छलफल गर्ने गरिएको छ भने हरेक दुई वर्षमा विमानस्थलभित्रै कुनै जहाज दुर्घटना भइहालेको अवस्थामा गर्नुपर्ने सम्पूर्ण सावधानीहरू सहितको अभ्यास गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको यो अभ्यास भएकोले यसलाई वास्तविकतासँग जोडेर अभ्यास हुने गरेको उनले सुनाए ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विमानस्थल अत्यन्त संवेदनशील क्षेत्र रहेकोले यदि कुनै विमान दुर्घटना भइहालेको अवस्थामा त्यसलाई कसरी सबैको समन्वयमा तत्काल उद्धार र उपचार गर्नेसँग सम्बन्धित भएर सबैको समन्वयमा काम गर्ने भन्नेमा यो अभ्यासले भूमिका खेलेको बताए । सबैको समन्वय र सहकार्य निरन्तर हुनुपर्नेमा जोड दिएका प्रजिअ दाहालले बाहिरबाट देख्दा के भएको रहेछ भन्नेजस्तो देखिएपनि यो विमानस्थलको आफ्नो आन्तरिक कार्य अन्तर्गत रहेको सुनाए ।
अभ्यासको क्रममा देखिएका त्रुटीलाई सच्याएर आन्तरिक रणनीति बनाउने तयारी नागरिक उड्डयन प्राधिकरणको हुने सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । दुर्घटना हुँदादेखि उद्धार र उपचारसम्मका अभ्यासलाई वास्तविकतासँग जोडेर अभ्यास भएको उनले जानकारी दिए । विमानस्थलमा वारुणयन्त्रको भूमिका, एम्बुलेन्स, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, नागरिक उड्डयन प्राधिकरण, निजी विमान कम्पनीहरू, पत्रकार लगायतको कुन कुन ठाउँमा कस्तो भूमिका हुने भन्ने समेत अभ्यासको क्रममा देखाइएको थियो ।