एमाले मेयरका उम्मेदवारलाई प्रश्न- अघिल्लो पटक एमालेले रामघाट र सेती बेच्यो, अब के बेच्ने योजना छ ?

पोखरा । पोखरामा हाल एमालेको मेयर र उपमेयरसहित २२ वडाध्यक्ष छन् । अधिकांशले राजीनामा दिएर पुनः उम्मेदवारी हालेका छन् ।

यही कार्यकालमा पोखरा महानगरले महत्त्वपूर्ण सम्पदाहरू निजी कम्पनीलाई लामो समयको लागि ठेक्का लगायो । सेती खोँच, पाताले छाँगो, फेवाको सिल्ट्रेसन ड्याम, रामघाट र मरेखहरे निजी क्षेत्रलाई २५ देखि ४० वर्षका लागि ठेक्का दिइएको हो ।

अहिले एमालेबाट उम्मेदवार बनेका जनप्रतिनिधिलाई प्रमुख प्रश्न यही छ । ‘२०७४ मा एमालेबाट जितेकाले रामघाट र सेती नदी बेचे । अब तपाईँ के बेच्न मेयर हुन लाग्नुभएको हो ?,’ पोखराको एक कार्यक्रममा उनलाई पोखराका एक युवाले प्रश्न गरे । मेयरका उम्मेदवार कृष्ण थापालाई अर्को प्रश्न पनि आयो, ‘२०५४ सालमा मेयर हुँदा कार्यकर्ता भर्ती गरेर निस्किनुभयो । २०७४ मा पनि कार्यकर्ताले महानगर भरिए । अब पनि भर्ती केन्द्र बनाउनुहुन्न भन्ने के ग्यारेण्टी छ ?’

जवाफमा मेयर उम्मेदवार थापाले कसैले कुनै पनि सम्पत्ति नबेचेको बताए । उनले फरक ढङ्गले जवाफ फर्काए । ‘सभ्यतापूर्वक विचार राख्नुस् । गत हाम्रो नेतृत्वले कहाँ के बेच्यो ? मुद्दा हाल्नुस् । नागरिकको अधिकार छ । कुनै नेताले गरेको क्रियाकलाप विरुद्ध जान सक्नुहुन्छ । झुटो कुरा गरेर हुँदैन,’ उनले भने, ‘दोष लगाउन जे भनेपनि हुन्छ । कसैले केही बेचेको पनि छैन । बेचेको प्रमाण ल्याउनु हुन्छ भने केन्द्रीय सदस्य हुँ । पार्टीमा राख्छु ।’

उनले प्रश्न गर्नेलाई धम्कीपूर्ण भाषामा आफूले प्रजातन्त्र ल्याइदिएर बोल्न पाएको बताए । ‘युवाहरूलाई मेरो विनम्र अनुरोध छ । तपाईँहरू सुखद युगमा हुनुहुन्छ । अग्रजले तयार गरिदिएको सिस्टममा इन्जोय गर्नुस्,’ उनी भन्छन्, ‘तपाईँहरू बोले बापत जेल जानुपर्दैन । बोलेबापत सजाएँ पाउनु पर्दैन । तपाईँहरू पनि हामीजस्तै देशका लागि योगदान गर्नुस् । तर प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । जतिसुकै चिच्याउनुस् अरू विकल्प हुन सक्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *