स्थानीय तहको निर्वाचन : के चाहन्छ धरान ?

धरान । पुर्वको सुन्दर पर्यटकीय शहर धरानको विकासको खाका कोर्ने काम अहिले यहाँका नागरिकको हातमा छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा धरानलाई कस्तो बनाउने भन्नेमा नागरिकको ध्यान केन्द्रित हुनु पर्ने हो । अहिलेको अबस्थामा त्यस्तो देखिएको छैन । दलहरु आफ्ना एजेण्डा फाल्दै चुनावी अभियानमा छन् भने उनका कार्यकर्ताहरु तिनै नेताको पछि लागेर हिँडेका छन् ।

धरानको ईतिहास भनेको लाहुरेको सहर हो । त्यो लाहुरेको सहर अहिले मृत अबस्थामा पुगेको छ। धराने लाहुरे भन्दा पहिलाको त्यो ठाँट अहिले बैदेशिक रोजगारीसँग जोडिन थालेको छ ।

ब्रिटिस लाहुरेहरु त हराईसकेका छन् भने त्यसको ठाउँमा साउदी, कतार र मलेसियन लाहुरेहरु देखिन थालेको भान स्थानियले गरेका छन् । त्यसको अस्तित्व फर्काउने दायित्व पनि अहिलेको स्थानीय तहको चुनावसँग जोडिएर आउनु पर्ने स्थानीय बुद्धिजिबीको भनाई छ।

लाहुरेको सहर बिरानो हुँदै गएको अबस्थामा धरानलाई पर्यटकीय र खेल क्षेत्रको हबको रुपका विकास गर्न सकियो भने पनि त्यसले धरानको गरिमालाई जोगाई राख्न सक्ने बिश्लेषण पनि हुने गरेको छ।

धरानको ईतिहासलाई जोगाउनको लागि पनि अहिलेको उम्मेदवारले नागरिकको आशा र अपेक्षालाई बुझनु पर्ने प्रध्यापक डा टंक न्यौपानेको भनाई छ। ‘नागरिकको चाहना एकतिर नेताको प्राथमिकता अर्को हुने हो भने धेरै बिषय अन्योलमा पर्न सक्छ, उनले भने, अहिलेको नारिकको चाहना भनेको पहिलाको ईतिहास बोकेको धरानलाई स्मार्ट धरान चिनाउनु हो ।’

स्थानीय तहको चुनाव एकदमै महत्वपुर्ण रहेकोले बिरासत जोगाउने र गढ भत्काउनेमा केन्द्रित हुनभन्दा पनि नागरिकको आबश्यकतालाई बुझ्न जरुरी रहेको उनको भनाई छ।

भत्किएको कम्युनिष्ट गढ : धरान भनेको कम्युनिष्टहरुको गढ हो । २०१७ साल पछि २०७६ सालको उप निर्वाचनमा कम्युनिष्ट भनिएको धरानको विरासत ढल्यो । एमालेबाट उठेका मेयरका प्रत्यासी उम्मेद्धवार प्रकाश राई पराजित भए । उनको ठाउँमा तिलक राईले उप चुनाव चिते । विसं २०७४ मा भएको धरान उपमहानगरपालिकाको निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेदवार तारा सुब्बासँग फराकिलो मत अन्तरले पराजित भएका तिलकले उपनिर्वाचनमा जित आफ्नो पक्षमा लिए । धरानमा तारा सुब्बाको निधन भएपछि उप चुनाव भएको थियो । तिलकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रकाश राईलाई दुई हजार ७९५ मत अन्तरले पराजित गरेका थिए ।

पञ्चायतकालमा पनि वामपन्थी उम्मेदवारले जितेको धरानमा २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि हरेक निर्वाचनमा कम्युनिस्टले जित्दै आएको थियो। २०४८ र २०५४ सालको स्थानीय निर्वाचनमा धरानमा एमालेले मेयर, उपमेयरसहित बहुमत वडामा जितेको थियो।

लामो समयपछि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि एमालेले मेयर, उपमेयर जितेको थियो भने २० वटा वडामध्ये १४ वटामा विजयी भएको थियो। मेयर तारा सुब्बाको निर्वाचनको एक वर्षपछि नै मृत्यु भएपछि २०७६ सालमा भएको उपनिर्वाचनमा भने कम्युनिस्टको विरासत गुम्यो । एमाले र माओवादी केन्द्रबीच एकता भएकाले पनि उपनिर्वाचनमा परिणाम आफ्नो पक्षमा आउनेमा तत्कालीन नेकपा ढुक्क थियो। परिणाम भने कांग्रेसको पक्षमा गयो ।

धरानका बाम बिश्लेषक राजेन्द्र शर्माले २०१७ सालदेखिको बामपन्थीहरुले धरानमा किल्ला बनाएकोले अहिले पनि जग बलियो रहेको बताए । ‘अहिले सबै दलहरु एजेण्डा बिहिन रुपमा चुनाव लड्न गएको देखिन्छ, उनले भने, भएका कामहरु पनि बिवाद रहित हुन नसक्दा त्यसको परिणाम यो चुनावमा आउनसक्छ ।’

उपमहानगरपालिकाको नेतृत्व बिभिन्न कारणले विवादमा रहेको उनको बुझाई छ। खानेपानी, कोशी राजमार्गको सडक बिस्तार, एकिकृत बस्ती विकास, सुकुम्वासी बस्ती विकासमा पनि समस्या देखियो, सकुम्बासीको आन्दोलनले धरानको नेतृत्वलाई थप विवादमा पु¥याएको उनकोे बुझाई छ। पार्क तथा सडकका विवादहरु चुनावमा नागरिकले आफ्नो मत मार्फत असन्तुष्टि पोख्ने भएकोले त्यसलाई पनि चुनावी परिणमसँग जोडेर अहिले देखि नै जानु पर्ने उनको बुझाई छ ।

महिलाको नेतृत्व, ५ दलीय गठबन्धनको मोडेल केन्द्रको मोडल भएको भन्दै सबै खालका गठबन्धनका दलहरुमा बिववादको फाईदा एमालेले लिनसक्ने उनको बुझाई छ। ‘कांग्रेस, समाजवादी र माओवादीका बिचमा नै बिवाद देखिन्छ, उनले भने, गठबन्धन गरेर चुनावी मैदानमा आएका दलका नेताहरुका आफ्ना एजेण्डा छैनन्, केपी ओलीलाई गाली गरेर नागरिकको मत लिनखोज्दा त्यसको असर प्रत्युत्पादक हुने देखिन्छ ।’ नेकपा एमालेबाट मेयरमा मञ्जु भण्डारी चुनावी मैदानमा छिन् भने उपमेयरमा पदमप्रसाद लिम्बु छन् ।

भण्डारी निवर्तमान उपमेयर हुन भने लिम्बु स्थानीय निकाय हुँदा वडा अध्यक्ष बनेका जनप्रतिनिधि हुन् । केन्द्रीय गठबन्धन अनुसार अहिले धरानमा कांग्रेस, माओवादी, जसपा, एकिकृत समाववादी बिच गठबन्धन भएको छ। नेकपा एकिकृत समाजवादीबाट मेयर पदमा दर्ता भएको उम्मेदवारी फिर्ता भएको छ।

धरानमा गठबन्धनको तर्फबाट मेयरमा किशोर राई र उपमेयरमा आईन्द्र विक्रम बेघा उम्मेदवार बनेका छन् । नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेल धरानमा एमालेको विरासत फर्कन नसक्ने बताउँछन्। धरानमा यो पटक ठुलो समुह गठबन्धन भएको कारण एमालेलाई फेरी धक्का लाग्न सक्ने उनी सुनाउँछन् । उनको दाबी ठुलो समुह र गठबन्धन भएको बुझाई छ ।

धरान छिरेका बुहारी र खेलाडी : भण्डारी विद्यार्थी राजनीतिबाट एमालेको राजनीतिमा आएकी हुन् । धरानको राजनीतिमा उनी केन्द्रीय सदस्य हुनुलाई धेरैले पहुँच भएकी महिलाको रुपमा हेरेका छन् । अर्कोतिर राजनीतिका चतुर खेलाडी किशोर राई खेल क्षेत्रबाट कांग्रेसको राजनीतिमा आए । कुनै बेला फुटबलका राष्ट्रिय खेलाडी किशोर झापाबाट धरानलाई कर्मथलो बनाउन आएका हुन्। मञ्जु भने धरानका एमाले नेता मुरारी सुवेदीसँग विवाह गरेपछि बुहारी बनेर धरान भित्रिएकी हुन् । दुबैको जन्मस्थल धरान नभएपनि कर्मथलो र

राजनीतिलाई केन्द्र बनाएर धरान नै बसे : बुहारी बनेर धरान भित्रिएपछि भण्डारीको राजनीतिक उचाइसँगै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी केन्द्रीय सदस्य भईन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयरको बनिन् । उपमेयर हुँदा गरेका कामको मुल्याङ्कन गर्दै उनले टिकट पाईन् । झापाबाट आएका किशोर राई भने सामाजिक संघ संस्थामाबाहेक अन्यत्र ‘टेस्ट’ भएका व्यक्ति होइनन्। उनी अखिल नेपाल फुटबल संघ एन्फामा सक्रिय थिए। खेलकुद क्षेत्रमा भएका कारण युवासँग उनको बढी सम्बन्ध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *