पोखरामा हुने राष्ट्रिय खेलकुद प्रतियाेगितामा कर्णालीले २८ खेलमा भाग लिने
सुर्खेत । गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २८ खेलमा भाग लिने भएको छ ।
आगामी जेष्ठ २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कर्णालीले विभिन्न २८ खेलमा भाग लिने भएको हो ।
जसका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषदले तयारी गरिरहेको परिषदका सदस्य सचिव विश्वामित्र सन्ज्यालले जानकारी दिए । सदस्य सचिव सन्ज्यालले भने, ‘अहिले कर्णाली प्रदेशमा विभिन्न खेलका खेलाडीहरू छनौटको प्रक्रिया चलिरहेको छ । छनोट भएका खेलाडीहरूलाई भने आगामी जेष्ठ २ गते देखि बन्द प्रशिक्षणमा राखिने तयारी भएको छ ।’
खेलाडीहरूको बन्द प्रशिक्षणको लागि भन्दै कर्णाली प्रदेश सरकारले १ करोडको बजेट व्यवस्थापन गर्ने भएको छ । बजेटका विषयमा बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, सामाजिक विकास मन्त्री यज्ञबहादुर विसी र परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालबीच भएको थियो ।
उक्त प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहन स्वरूप पुरुस्कृत गर्ने भएको छ । प्रदेश सरकारले पुस्कृत गर्ने विजयी खेलाडीहरूमा स्वर्ण पदक विजेतालाई दुई लाख, रजत पदक विजेतालाई एक लाख ५० हजार र कास्य पदक विजेतालाई एक लाख प्रदेश प्रोत्साहन पुरस्कार दिने भएको हो ।
१०औँ राष्ट्रिय खेलकुल प्रतियोगिता आयोजनाको लागि कर्णाली प्रदेशले गण्डकी प्रदेशबाट झण्डा लिने भएकोले कर्णाली प्रदेशबाट खेलाडी, प्रशिक्षक, व्यवस्थापक र पत्रकार गरी कर्णालीबाट ६ सय जनाको सहभागिता रहने छ ।