मधेशमा दलित-गैरदलित बिहे
विराटनगर । संविधान र कानुनले दण्डनीय बनाए पनि अन्तर समुदाय, दलित र गैर दलित बिचको विवाहलाई समाजले अझै पूर्ण रूपमा स्वीकार गरिसकेको छैन । अझ तराई मधेसका बस्तीमा यो कार्यान्वयन गर्न निक्कै चुनौतीपूर्ण देखिएको छ ।
अन्तर समुदायको विवाह सामान्यजस्तै भए पनि अन्तर समुदाय दलित विवाह भने बिरलै भएको पाइन्छ । विभेदका बिच कतिपय युवाहरूले भने त्यसलाई अप्ठेरोका बिच व्यावहारिक कार्यान्वयनमा लिएर जान थालेका छन् । त्यस्तै भएको छ मोरङको सुनबर्षी नगरपालिकामा ।
मोरङको सुनबर्षी नगरपालिका एक मधेसी समुदायका युवाले पहाडे समुदायकी दलित किशोरीलाई विवाह गरेर उदाहरणीय बनेका छन् । सुनवर्षी नगरपालिका २ सुगाबजारका राजेन्द्रप्रसाद र प्रमिलादेवी साहका जेठा छोरा २७ वर्षीय वीरेन्द्र साह र वडा नम्बर ३ की रत्न दर्नाल र कल्पना देवी दर्नाल (परियार) की जेठी छोरी २५ वर्षीय सम्झना दर्नालका बिच मागी विवाह भएको हो । उनीहरूले झ्याँइझ्याँइ बाजा बजाएर धार्मिक रीतिअनुसार मागी विवाह गरेका हुन् ।
बेहुला र बेहुली दुवै परिवारको सहमतिमा पण्डितले जुराएको साइतमा विवाह भएको बेहुला वीरेन्द्रले बताए । २१ गते बुधवार भएको बिहे हिन्दु वैवाहिक विधि अनुसार जग्गेमा पण्डितले विवाह सम्पन्न गराएका थिए । बुधवार विवाह गरेका वीरेन्द्रले बिहीबार सबैलाई प्रीतिभोज गराएका थिए । पेसाले पत्रकार र राजनीतिक रूपमा पनि अग्रसर रहेका युवा वीरेन्द्रले समाजमा राम्रो सन्देश दिएको भन्दै नेता, कार्यकर्तादेखि प्रदेशका मन्त्रीसम्म आशीर्वाद दिन पुगेका थिए । ‘हामीले समाजमा परिवर्तन आफैबाट सुरु गर्नुपर्छ भनेर परिवारलाई सहमति गराएर केही वर्षदेखिको प्रेमलाई मागी विवाहमा परिणत ग¥यौँ, बेहुला वीरेन्द्र र बेहुली सम्झनाले भने, हामीले समाजलाई एउटा नयाँ सन्देश दिन खोजेका हौँ ।’
दलित र गैर दलित भनेर जातको कुरा गर्नु लाजमर्दो हुने बेहुलाका बुबा राजेन्द्र प्रसादले बताए । बेहुला वीरेन्द्र पत्रकारिता र कलाकारितासँगै समाजसेवामा पनि सक्रिय छन् । बेहुली सम्झना भने स्नातक तह अन्तिम वर्षमा अध्ययनरत छिन् । सम्झनाका बाबु आमा कृषक हुन भने वीरेन्द्रका बाबु स्थानीय व्यापारी हुन् ।