चितवन आइपुग्यो मतपत्र, ३६ प्रकारका चुनाव चिह्न

चितवन । निर्वाचनको मितिभन्दा पाँच दिनअघि चितवनमा मतपत्र आइपुगेको छ।

चितवनमा मतदाताको संख्या भन्दा ९ दशमलब १३ प्रतिशत अर्थात ३६ हजार ३१५ बढी मतपत्र आएको निर्वाचन कार्यालय भरतपुरले जनाएको छ। चितवनको सात पालिकामा मतदाताको संख्या तीन लाख ९७ हजार ६८५ रहेको छ। चितवनमा सात पालिकाका लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरले जनाएको छ।

वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आयोगले चितवनमा अन्य जिल्लाको तुलनामा मतपत्र ढिला पठाएको छ। केही मतपत्रमा प्रिन्ट बिग्रेको हुनसक्ने भनेर केही मतपत्र बढी पठाएको निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले बताए। मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारी आयोगले आफ्नो नीति अनुसार नै मतदाताको संख्याभन्दा केही बढी मतपत्र पठाएको जानकारी दिए।

भरतपुर महानगरको लागि बनाइएको मतपत्रमा दल र स्वतन्त्रका गरी ३६ प्रकारका चुनाव चिह्न छन्। उम्मेदवार भने ३५ प्रकारका चुनाव चिह्न पाएका मात्रै छन्। ३६औँ नम्बरको लाइनमा राखिएको चुनाव चिह्न कुनै पनि उमेदवारको नभएको निर्वाचन कार्यालयले जनाएको छ। मतदानको दिन ३० वैशाख बिहान दलका प्रतिनिधिहरूको रोहवरमा मतपत्रको पोको खोलिनेछ।

चितवनको भरतपुर महानगरको चुनावको चर्चा देशभरि नै चलेको छ। भरतपुर महानगरको मेयरमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्र चितवनकी इन्चार्ज रेणु दाहाल र नेकपा एमाले र राप्रपाको तालमेलमा एमालेका नेता विजय सुवेदी चुनावी मैदानमा छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *