उम्मेदवार वडको दाबी– धनगढीमा घर–घरमा खानेपानीको धारा पुर्याउँछौँ

धनगढी । गठबन्धनको तर्फबाट धनगढी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार नृपबहादुर वडले धनगढीबासीका घर–घरमा खानेपानी पुर्याउने दाबी गरेका छन् । चुनावी प्रचार–प्रसारका क्रमममा शनिबार धनगढी–१२ मा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफू विजयी भएर गए धनगढीबासीका घर–घरमा शुद्ध खानेपानीको धारा पुग्ने बताएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार वडले धनगढीको सबैभन्दा ठूलो योजना खानेपानी रहेकोले आगामी दिनमा सबैको घर–घरमा शुद्ध खानेपानी पुग्ने उनले बताए । विगत २० वर्षदेखि निरन्तर जनताको माझमा रहेको स्मरण गर्दै वडले यहाँका साझा समस्याहरू समाधानका लागि आफू कटिबद्ध रहेको बताए । राष्ट्रियता, संविधान बचाउन र देशको विकास र समृद्धिको लागि गठबन्धनबाट चुनावमा गइरहेकाले सम्पूर्ण टीमलाई इमान्दारीका साथ भोट हाल्न उनले आग्रह गरे ।

निवर्तमान मेयरसमेत रहेका वडले पाँच वर्षको कार्यकालमा थुर्पै प्राकृतिक घटनाहरूले जनताले चाहिएजति काम गर्न नसकेको स्वीकार गर्दै आफूले जनताको समस्या समाधानका लागि सक्दो प्रयास गरेको बताए । पाँच वर्षको कार्यकाल भएपनि काम गर्ने वातावरण दुई वर्ष मात्रै रहेकाले सो अवधिमा सकेजति काम गरेको उनले बताए ।

‘हाम्रो कार्यकाल पाँच वर्षको भएपनि सो अवधिमा थुप्रै समस्याहरू झेल्नुर्पयो कहिले हावाहुरी कहिले कोभिड त कहिले डुवान,’ वडले भने, ‘त्यही पनि हामीलाई काम गर्ने वातावरण दुई वर्षमात्रै रह्यो । त्यो दुई वर्षको अवधिमा पनि हामीले धनगढीको धेरै विकास गर्न सफल भएका छौँ ।’ यस्तै वडले यस अघिको ओली सरकारले केही गर्न नसकेको समेत आरोप लगाए । उनले केपी ओली सरकारले विभिन्न काण्डै काण्ड ल्याएको समेत बताए ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धनगढीमा पाँच दलीय गठबन्धन गरिएको छ । धनगढीको मेयरमा नेपाली काँग्रेसका नृपबहादुर वड र उपमेयरमा नेकपा माओवादी केन्द्रका शान्ति अधिकारीलाई गठबन्धनको साझा उम्मेदवारका रूपमा अघि सारिएको छ । वडास्तरमा मित्रवत प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *