निर्वाचनका लागि नेपाल भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता
वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी बारा र पर्साका नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतकर्ता अनपाएको छ ।
निर्वाचनका बेला सीमा क्षेत्रमा हुनसक्ने आपाराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुवै जिल्लाका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार मातहातका सबै सुरक्षा शाखालाई परिचालन गरी सीमा क्षेत्रमा निगरानी गर्दै आएको गणका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।
यता बारा जिल्लामा पनि सशस्त्र प्रहरीले चुनावका बेलामा सीमा क्षेत्रमा निगरानी थालेको छ । सीमा क्षेत्रमा हुनसक्ने सबै प्रकारका आपाराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले उच्च सुरक्षा सतकर्ता अपनाइएको जिल्लास्थित सशस्त्र प्रहरी बल १२ नं गणका प्रहरी उपरीक्षक राजेन्द्र थापाले जानकारी दिए ।
पर्सा तथा बारास्थित जिल्ला सशस्त्र प्रहरी गण मातहात सुरक्षा बेस, सीमा सुरक्षा पोष्ट (बिओपी) र सीमा निगरानी पोष्ट (एफओवी) निर्वाचनका बेलामा शान्ति सुरक्षामा क्रियाशील रहेका छन् ।
सुरक्षाकर्मीद्वारा प्रचारसामाग्री हटाइँदै
पर्सा जिल्लाका विभिन्न स्थानमा स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारको प्रचारप्रसारका लागि सार्वजनिकस्थलमा टाँगिएका पोष्टर पम्प्लेट, ब्यानर तथा पार्टीका झण्डा हटाउन थालिएको छ । बिजुलीको पोल, विद्यालय, चोक चौराहालगायत सार्वजनिकस्थलमा निर्वाचन आचारसंहिता विपरीत राखिएका निर्वाचन सामग्री सुरक्षा निकायको टोलीले हटाउन थालेको हो ।
जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा उम्मेदवारले पनि पार्टी कार्यालयबाहेक सार्वजनिकस्थलमा राखिएको निर्वाचन प्रचारसामग्री हटाउने प्रतिबद्धता व्यक्त गरेपनि ती सामग्री उम्मेदवार र दल स्वयंले नहटाएका कारण सुरक्षाकर्मीले हटाउन सुरू गरेका हुन् ।
क्रियाशील प्रमुख राजनीतिक दलका उम्मेदवारले सार्वजनिकस्थलमा राखेका पार्टीको झण्डा, ब्यानर, तुललगायतका प्रचार सामग्री हटाउने यस अगाबै प्रतिबद्धता जनाइसकेका थिए ।
तीन लाख ३९ हजार ८३६ मतदातामध्ये पुरुष एक लाख ९१ हजार ५३७ र महिला एक लाख ४८ हजार २८३ र अन्य १६ मतदाता रहेका छन् । पर्सा जिल्लामा १६७ वटा मतदानस्थल र ४०४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।